मेचीनगर । मेचीनगर–६ मा सञ्चालित पशुपति अंग्रेजी माविले विद्यार्थी लक्षित कार्यक्रम ‘मिनी एक्सपो’ आयोजना गरेको छ । विद्यार्थीको सीपलाई व्यवहारमा उतार्नका लागि कार्यक्रम आयोजना गरिएको हो । प्रदर्शनीमा विद्यार्थी एवम् शिक्षकहरुले तयार पारेको आकर्षक डिजाइनका ब्याग, गमला, माला, फूलदानी, कपाल बाँध्ने रवर, रुमाल, खुत्रुके, सिलम सक्मा लगायत थुप्रै आकर्षक सामाग्रीहरु तथा चित्रकला निर्माण गरेर राखिएको थियो । कक्षा ५ सम्मका विद्यार्थी एवम् शिक्षकहरुको सीप र प्रतिभा देखेर अभिभावकहरु समेत दंग थिए ।

विद्यार्थीहरुलाई पढाइका अतिरिक्त विभिन्न अतिरिक्त क्रियाकलापमा दक्ष बनाउन यस किसिमको सीप सिकाएको र उनीहरुको दक्षता, क्षमता र प्रतिभा उजागर गर्न कार्यक्रम आयोजना गरिएको विद्यालयकी प्रिन्सिपल अनिता थापाले बताइन् । ‘किताबी ज्ञानले मात्र अब नानीहरुको भविष्य बन्दैन,’ प्रिन्सिपल थापाले भनिन् ‘सीपमुलक शिक्षा आजको आवश्यकता भएकाले विद्यार्थीलाई यसतर्फ प्रेरित गर्न खोजिरहेका छौँ ।’ शिक्षकहरुको सहायताले विद्यार्थीहरुले समेत थुप्रै आकर्षक सामाग्री निर्माण गरेर प्रदर्शनमा राखेको उनले बताइन् ।
कार्यक्रमलाई अवलोकन गर्न पुगेका अभिभावकहरुले विद्यालयको प्रशंसा गर्दै कार्यक्रम अत्यन्तै प्रभावकारी र स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन् । आफ्ना नानीहरुले निर्माण गरेका आकर्षक हस्तशिल्पहरु खरिद गर्दा नानीहरुलाई हौसला हुनका साथै आफूहरु समेत उत्साहित भएको अभिभावकहरुले बताएका छन् ।


















