धुलाबारी, १२ फागुन । झापा मेचीनगर–९ को कविशिरोमणि माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा उत्कृष्ट दुईजना शिक्षक सम्मान, दाता सम्मान, छात्रवृत्ति वितरण तथा सांगीतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा वर्ष उत्कृष्ट शिक्षकका रुपमा दीपक सिवाकोटी र निलु शर्मालाई सम्मान गरिएको हो ।
त्यसैगरी, विभिन्न दाता परिवारहरुले स्थापना गरेको अक्षयकोषबाट दजनौँ विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरिएको थियो । विद्यालयलाई विभिन्न तरिकाबाट सहयोग गर्ने सबै दाताहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
सोही अवसरमा पूर्व विद्यार्थी तथा राष्ट्रिय कलाकारद्वय डाक्टर टिका भण्डारी र सरोज ओलीले सांगीतिक प्रस्तुति दिएका थिए । वरिष्ठ संगीतकारसमेत रहेका भण्डारीले पुराना कालजयी गीतहरु प्रस्तुत गरेका थिए भने ओलीले आफ्ना हिट गीत गाएर उपस्थित सबैलाई मनोरञ्जन दिएका थिए । गायक तथा संगीतकार समीर खरेलले पनि मन छुने गीत गाएका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष संगीता थापाको अध्यक्षता तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षकहरुको प्रमुख भूमिका रहने बताए ।
विद्यालयका प्रधानाध्यापक हरि न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सबै पक्षको सहयोग र सद्भावबाट विद्यालयले प्रगति हासिल गरेको बताए ।
सहायक प्रधानाध्यापक तुलसा दंगालले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, कलाकारद्वय टिका भण्डारी र सरोज ओलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

















