बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस)को १६औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सातवटा इकाइगत र ६ वटा उपइकाईगत साधारण सभा सम्पन्न गरी त्यहाँबाट छानिएर आएका २६ जना प्रतिनिधि र सञ्चालक समितिले मूल माइन्युट प्रमाणीकरण गरेसँगै साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको मूल माइन्युट प्रमाणिकरण सभामा संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले माइन्युटमा उल्लेखित निर्णयहरु बुँदागत रुपमा वाचन तथा ब्याख्या गरी सुनाएका थिए । कार्यकारी प्रमुख बस्नेतले संस्थाको वित्तीय अवस्थाका बारेमा पनि अवगत गराएका थिए ।
उक्त अवसरमा शनिश्चरेरोड सेवा केन्द्रका प्रमुख दिवस गजुरेललाई संस्थाको नियमित काम सम्पादन गरेर बचेको समयमा विविध शैली र माध्यमबाट सिम्रिक साकोसको नाम उँचो बनाउन विशेष भूमिका निर्वाहा गरेकोमा विशेष उत्कृष्ट कर्मचारीका रूपमा नगद ५ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरियो ।
यस्तै, मानव उद्धार कार्यमा समर्पित सामाजिक अभियन्ता महेन्द्र भट्टराईलाई १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा संस्थापक सेयर सदस्यद्वय टंककुमार बस्नेत र पार्वता बस्नेत कार्कीलाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरियो ।
कार्यक्रममा पूर्वाञ्चल स्वास्थ्य सहकारीका कोषाध्यक्ष बुद्धिराम भट्टराईले मनमोहन अस्पतालमा उपलब्ध सेवाहरुका बारेमा जानकारी गराउँदै साधारण सभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सचिव इन्द्रबहादुर कार्कीले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन विभागीय प्रमुख प्रेम बस्नेत (विजय)ले गरेका थिए ।
माइन्युट प्रमाणिकरण साधारण सभामा संस्थाका सल्लाहकार, सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरु, ऋण उपसमिति, शिक्षा उपसमिति र व्यवस्थापन तहका कर्मचारी, शेयर सदस्य लगायतको सहभागिता थियो ।