मेचीनगर । पद र जिम्मेवारी बढेसँगै धेरै नेताको व्यवहार फेरिने गरेको आरोप नेपाली राजनीतिमा नौलो होइन । तर, नेपाली कांग्रेस मेचीनगर नगरसमितिका सभापति सुवेशकुमार पनेरु यस मामिलामा अपवाद बनेका छन् । जिम्मेवारी बढे पनि उनको जनसम्पर्क, सरलता र जनमुखी सोचमा कुनै परिवर्तन आएको छैन । यही निरन्तरताले उनलाई आज कार्यकर्ता र सर्वसाधारण दुवैको प्रिय नेता बनाएको छ ।
पार्टी सुदृढीकरणसँगै जनताको आवाजलाई प्राथमिकतामा राख्ने पनेरुको कार्यशैलीले मेचीनगर मात्र होइन, झापा क्षेत्र नं. १ क्षेत्रमा पनि सकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।
पार्टीका आन्तरिक गतिविधिदेखि सामाजिक सरोकारका विषयसम्म उनी अग्रपंक्तिमा देखिन्छन् । समस्या सुन्ने, समाधान खोज्ने र जनतासँगै उभिने उनको बानीले उनीप्रति जनविश्वास थप मजबुत बन्दै गएको छ ।
यसअघि झापा–१ बाट नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा प्रतिनिधि सभामा निर्वाचित भएका थिए । तर, आगामी निर्वाचनमा शर्मा उम्मेदवार नबन्ने संकेत र अर्का नेता विमल आचार्य पनि मैदानमा नउत्रने भएपछि पनेरुको नाम स्वाभाविक रुपमा अगाडि आएको छ । पार्टीभित्र मात्र होइन, आम नागरिकको छलफलमा समेत पनेरु सम्भावित पहिलो नम्बरको उम्मेदवारको रुपमा देखिन थालेका छन् ।
जनताको मनमा बसेका नेता पनेरु आफूले गरेका कामकै कारण जनविश्वास जित्न सफल भएको बताउँछन् । ‘राजनीति पदका लागि होइन, सेवाका लागि हो भन्ने मान्यतामा म सधैँ उभिएको छु,’ उनी भन्छन्, ‘जनताले दिएको विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो ।’ स्थानीय विकास, सुशासन, युवाको सहभागिता र सामाजिक न्यायका विषयमा स्पष्ट दृष्टिकोण राख्ने पनेरुलाई पार्टीभित्र भविष्यको भरोसायोग्य नेतृत्वका रुपमा हेरिन थालेको छ ।
युवाहरुमाझ लोकप्रियता कमाएका उनको सक्रियता, पहुँचयोग्य स्वभाव र निरन्तर जनसम्पर्कले झापा–१ मा कांग्रेसको आधार अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
राजनीतिमा शब्दभन्दा काम बोल्ने विश्वास राख्ने सुवेशकुमार पनेरु आज जनताको भरोसामा उभिएका एक सम्भावनाशील अनुहार बनेका छन् । आगामी दिनमा उनको भूमिकाले झापा–१ को राजनीतिक दिशा कता मोडिन्छ भन्ने चासोसमेत बढ्दै गएको छ ।

















