पोखरा महानगरपालिका–२६ स्थित प्रतिष्ठित शैक्षिक संस्था सिर्जना बहिरा आवासीय माध्यमिक विद्यालयको सहायक प्रधानाध्यापक पदमा ओमकार राज पाण्डे नियुक्त हुनुभएको छ। विद्यालयको शैक्षिक विकास, प्रशासनिक सुदृढीकरण र समावेशी शिक्षाको प्रवर्द्धनमा उहाँले पुर्याउनुभएको निरन्तर योगदानको कदर गर्दै यस महत्त्वपूर्ण जिम्मेवारीमा चयन गरिएको हो।
लामो समयदेखि विशेष शिक्षाको क्षेत्रमा समर्पित पाण्डेको नियुक्तिले विद्यालयको समग्र शैक्षिक स्तरोन्नतिमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। साङ्केतिक भाषा, विशेष शिक्षण पद्धति र अपाङ्गता भएका बालबालिकाको मनोविज्ञानलाई नजिकबाट बुझ्नुभएका उहाँको अनुभवले आवासीय रूपमा अध्ययनरत बहिरा विद्यार्थीहरूको बौद्धिक, सामाजिक तथा सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ।
विशेष आवश्यकता भएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर र सक्षम नागरिक बनाउने लक्ष्य बोकेको यस विद्यालयमा पाण्डेको उपस्थिति प्रशासनिक तथा व्यवस्थापकीय दृष्टिकोणले समेत फलदायी हुने विश्वास लिइएको छ। उहाँको नियुक्तिप्रति विद्यालय व्यवस्थापन समिति, शिक्षक-कर्मचारी सङ्घ, अभिभावक संघ तथा स्थानीय समुदायले खुसी व्यक्त गर्दै विद्यालयले आगामी दिनमा थप शैक्षिक उचाइ हासिल गर्ने आशा व्यक्त गरेका छन्।
नवनियुक्त सहायक प्रधानाध्यापक पाण्डेले आफूलाई सुम्पिइएको जिम्मेवारीलाई पूर्ण निष्ठा, लगनशीलता र उत्तरदायित्वका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। विशेष शिक्षाको पहुच र गुणस्तरलाई अझ सुदृढ बनाउँदै विद्यालयको हितका लागि सम्पूर्ण पक्षसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ छ।

















