मेचीनगर । आख्यानकार नारायण ढकालको चर्चित कथा ‘इरफान अली’ मा आधारित नाटक ‘इरफान अली : निसाफको अनन्त तिर्खा’ काँकरभिट्टामा मञ्चन भइरहेको छ।

 परिवर्तन थिएटरको निर्माण तथा प्रस्तुतिमा तयार भएको नाटकले पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन, धार्मिक विभेद र अन्यायलाई रंगमञ्चमार्फत प्रस्तुत गरेको छ। नेपाली भाषा नजान्ने कैदीमाथि हुने अत्याचार, चौकीदारको दमन तथा शक्तिशाली व्यक्तिको प्रभावमा हत्यारासम्मले पाउने आममाफीजस्ता विकृतिलाई समेत नाटकले उठाएको छ।

काँकरभिट्टास्थित सामुदायिक हलमा असोज १५ देखि २० गतेसम्म नाटक मञ्चन हुने भएको छ। दर्शकका लागि दैनिक दिउँसो २ बजे र साँझ ५ बजे गरी दुई शो सञ्चालन भइरहेका छन्।

नारायण ढकालको कथालाई विनोदविक्रम केसीले नाट्य रूपान्तरण गरेका हुन् भने निर्देशन कविता नेपालले गरेकी छन्। स्थानीय दर्शकसँग साहित्य र रंगमञ्चलाई जोड्ने उद्देश्यले नाटक प्रस्तुत गरिएको थिएटरले जनाएको छ। 


काँकरभिट्टामा भइरहेको नियमित मञ्चनमा विद्यार्थी, साहित्यप्रेमी, कलाकार तथा स्थानीय दर्शकको सहभागिता बढ्दै गएको आयोजकले जनाएको छ। सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखिएको नाटकले दर्शकलाई मनोरञ्जनसँगै विगतका सामाजिक तथा राजनीतिक अवस्थाबारे सोच्न बाध्य बनाउने प्रयास गरेको छ।

परिवर्तन थिएटरले यसअघि पनि मेचीनगरसहित झापा र पूर्वी नेपालका विभिन्न स्थानमा सामाजिक विषयवस्तुमा आधारित नाटकहरू मञ्चन गर्दै आएको छ।