मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ माइन्युट प्रमाणीकरण वार्षिक साधारण सभा शनिबार नकलबन्दा सामुदायिक सभाहलमा सम्पन्न भएको छ । संस्थाले भदौ १९ र २० गते इकाईगत साधारणसभा सम्पन्न गरी छनोट भएका प्रतिनिधिहरूको सहभागितामा माइन्युट प्रमाणीकरण सभा आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिनाको सभापतित्व तथा संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार संयोजक होमराज गुरुङको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको थियो ।

सभामा संस्थाका अध्यक्ष तिम्सिनाले वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारी संस्थालाई सदस्यहरूको आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्दै लैजाने उद्देश्यअनुसार विभिन्न गतिविधि सञ्चालन भइरहेको बताए । उनले सहकारी केवल बचत तथा ऋण कारोबारमा सीमित नभई सदस्यहरूको जीवनस्तर परिवर्तनमा सहयोग गर्ने भरपर्दो माध्यमका रूपमा अघि बढिरहेको उल्लेख गरे ।

832590643_122262059444258563_5623965850993187801_n२०६४ सालमा स्थापना भएको नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो समय आफ्नो वित्तीय अवस्था मजबुत बनाउँदै लगेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको शेयर पुँजी १ करोड ३० लाख ५६ हजार २ सय २५ रुपैयाँ पुगेको छ भने कुल पुँजी ११ करोड ४९ लाख ५१ हजार ६ सय ९० रुपैयाँ ३८ पैसा पुगेको जनाइएको छ ।

संस्थाको वित्तीय कारोबारतर्फ निक्षेप संकलन ९ करोड ३१ लाख १० हजार ७ सय ४० रुपैयाँ रहेको छ भने कर्जा लगानी ८ करोड ३९ लाख ६४ हजार ९ सय रुपैयाँ रहेको छ । संस्थाले सदस्यहरूबाट संकलित बचतलाई आवश्यकताअनुसार उत्पादनशील क्षेत्रमा परिचालन गर्दै सदस्यहरूको आर्थिक आवश्यकता पूरा गर्न कर्जा प्रवाह गर्दै आएको जनाएको छ ।

832856068_122262059750258563_6062636703781128251_nआर्थिक वर्ष २०८२/०८३ मा संस्थाले १६ लाख ३ हजार ८४ रुपैयाँ खुद नाफा कमाउन सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले वित्तीय कारोबारसँगै सदस्यको हित र सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

सदस्यहरूको हितलाई ध्यानमा राखी संस्थाले उपचार राहत, मृत्यु राहत, सुत्केरी पोषण राहत तथा निःशुल्क बाल बचत खाता लगायतका सदस्य–केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको व्यवस्थापक महेन्द्रबहादुर कुँवरले जानकारी दिए । यस्ता कार्यक्रमले सदस्य तथा उनीहरूका परिवारलाई आवश्यक अवस्थामा सहयोग पुग्ने उनले बताए ।

सभामा संस्थाको लेखा प्रतिवेदन लेखा समिति सदस्य प्रज्वल बस्नेतले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै सहभागी प्रतिनिधिहरूले संस्थाको वित्तीय अवस्था, सेवा प्रवाह, सदस्यको हित तथा आगामी कार्ययोजनाका विषयमा सुझाव राखेका थिए ।

833093877_122262059636258563_706828901571575852_nकार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा व्यवसाय समिति संयोजक मेघराज गेलाल, सञ्चालक समिति सदस्य तथा कर्जा उपसमिति संयोजक इन्द्रबहादुर तामाङ, सल्लाहकार सदस्य कुमारप्रसाद तिम्सिना, व्यवसाय समिति सदस्य डम्बरबहादुर मगर लगायत सञ्चालक समिति, विभिन्न उपसमिति तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष माया प्याकुरेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । सभाको सञ्चालन व्यवस्थापक महेन्द्रबहादुर कुँवरले गरेका थिए ।

सभाले संस्थाको विगतको प्रगति तथा वित्तीय अवस्थाको समीक्षा गर्दै आगामी दिनमा सदस्य सेवा, बचत संकलन, कर्जा लगानी तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।