मेचीनगर । झापाको मेचीनगरस्थित होलिबेल इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्थी आलोक श्री निरौलाले राष्ट्रिय क्याडेट कोर ९एनसीसी० को बन्द प्रशिक्षणमा ‘बेस्ट क्याडेट’ उपाधि हासिल गरेका छन् । विद्यालयको कक्षा ९ मा अध्ययनरत निरौलाले उत्कृष्ट क्याडेटको उपाधि जित्दै विद्यालयसँगै जिल्लामै नाम उँचो बनाएका हुन् ।
मोरङको याङशिलामा असोज ८ गतेदेखि २८ गतेसम्म नेपाली सेनाको आयोजनामा सञ्चालन भएको एनसीसीको बन्द प्रशिक्षणमा नौ जिल्ला तथा दुई प्रदेशका १८ विद्यालयका ५३५ विद्यार्थी सहभागी भएका थिए । उक्त प्रशिक्षणमा होलिबेल इङ्लिस सेकेन्डरी स्कुलबाट ३० जना विद्यार्थी सहभागी भएका थिए ।
एनसीसीको प्रशिक्षणमा सहभागी विद्यार्थीमध्ये निरौलाले उत्कृष्ट क्याडेटको उपाधि जित्न सफल भएका हुन् ।विद्यालयका विद्यार्थीले विभिन्न विधामा उत्कृष्टता हासिल गरेपछि विद्यालयले आज परिसरमा विशेष कार्यक्रम आयोजना गरी उनीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै सम्मान गरेको छ ।
कार्यक्रममा एनसीसी प्रशिक्षणका क्रममा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान गरिएको थियो । विद्यार्थीको अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र अतिरिक्त क्रियाकलापमा देखाएको उत्कृष्ट प्रदर्शनको कदर गर्दै विद्यालयले सम्मान गरेको हो ।
विद्यालयका प्रधानाध्यापक अरिस्ता प्रधान, इन्चार्ज अमृता प्रधान, निर्देशक अभिषेक प्रधान, विद्यालय व्यवस्थापन समिति सदस्य तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँ र अभिभावक केशव निरौलाले विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । त्यसैगरी पत्रकार झुलन रेग्मी, प्रकाश पौडेल र खगेन्द्र घिमिरेको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षक विमल भट्टराईले सञ्चालन गरेका थिए भने विद्यालयका भाइस प्रिन्सिपल सागर शर्माले स्वागत मन्तव्य राखेका थिए ।
पढाइसँगै अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै आएको होलिबेल इङ्लिस सेकेन्डरी स्कुलले विद्यार्थीको प्रतिभा, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा जोड दिँदै आएको छ । एनसीसीमा विद्यार्थीले हासिल गरेको सफलता विद्यालयका लागि गौरवको विषय बनेको छ । आलोक श्री निरौलाले हासिल गरेको बेस्ट क्याडेट उपाधिले विद्यार्थीमा अनुशासन, मेहनत र नेतृत्व विकासका लागि प्रेरणा मिल्ने विद्यालयको विश्वास छ । शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता हासिल गर्दै होलिबेलले जिल्लामा आफ्नो पहिचान स्थापित गर्दै आएको छ ।

















