धुलाबारी । नेपाली कांग्रेस झापा क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा दुईजना नेताको उम्मेदवारी परेको छ । धुलाबारीस्थित क्षेत्रीय पार्टी कार्यालयमा आज सम्पन्न उम्मेदवारी दर्ता गराउँदै क्षेत्रीय सभापतिका लागि इन्द्रबहादुर बुढाथोकी र सुदय पनेरु चुनावी मैदानमा उत्रिएका छन् ।
एकपटक फेरि क्षेत्रीय सभापति दोर्याउँदै बुढाथोकीले आगामी पाँच वर्षका लागि आफ्नो शसक्त दाबेदारी प्रस्तुत गरेका छन् । उनी नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माका नजिकका पात्र मानिन्छन् । बुढाथोकीले कांग्रेसलाई चलायमान बनाउनका लागि आफूले उम्मेदवारी प्रस्तुत गरेको बताएका छन् ।
पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले परिवर्तित कांग्रेसलाई एकजुट बनाउनका लागि पार्टीभित्र आफ्नो आवश्यकता खड्किएको दाबी गरे । ‘कांग्रेस पार्टीलाई अझ सक्रिय बनाउनु छ,’ उनले भने, ‘पार्टी लहडले होइन, विचार र सिद्धान्तले चलाउनका निमित्त मेरो उम्मेदवारी रहेको छ ।’
लामो समय पार्टी भित्र सक्रिय बुढाथोकीलाई टक्कर दिन पनेरुले सशक्त दाबी पेश गरिरहेका छन् । पनेरुले यसअघि मेचीनगर सभापति भएर सक्रिय भूमिका निर्वाह गरिसकेका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा सानदार रुपमा उनले वडा नं १० को वडाध्यक्ष पद जितेका थिए ।
युवा तथा पाका नेता कार्यकर्ताबीच लोकप्रिय पनेरुले गुट उपगुट भन्दा माथि उठेर आफूले उम्मेदवारी दिएको बताए । विगतमा नगरको नेतृत्व सफल रुपमा सम्पन्न गरेको बताउँदै उनले क्षेत्रमा बसेर कांग्रेस पार्टीलाई अझ बलियो बनाउने उद्देश्य रहेको उल्लेख गरे । ‘सबैजना अब अगाडि बढ्नुपर्छ,’ उनले आफ्नो प्रतिस्पर्धीप्रति लक्षित गर्दै भने, ‘हिजो क्षेत्रको नेतृत्वमा बसेकाहरु माथि जाने हो । युवाहरुलाई ठाउँ दिँदै जानुपर्छ ।’
पनेरुले पार्टी कसैको पेवा नहुने बताए । सबैले समान अवसर पाउनु पर्ने धारणा व्यक्त गरे । पनेरुले आफू चारतारे कांग्रेस र विश्वप्रकाश अनि गगन थापाको गुट भएको तर्क पनि गरेका छन् । पनेरुले आफ्नो जीत निश्चित भएको दाबी समेत गरेका छन् ।

















