मेचीनगर । मेचीनगर नगरपालिकामा पछिल्लो समय अधिकांश जनप्रतिनिधि नगर बाहिर रहेपछि नगरको कार्यवाहक नेतृत्व वडा नं. ३ का वडाध्यक्ष हर्क बस्नेतलाई दिइएको छ ।

मेयर, उपमेयरसहित धेरैजसो जनप्रतिनिधि विभिन्न राजनीतिक तथा प्रशासनिक कामका सिलसिलामा काठमाडौँमा रहँदा नगरको दैनिक प्रशासनिक जिम्मेवारी वडाध्यक्ष बस्नेतले सम्हालिरहेका छन् ।

मेचीनगरका नगर प्रमुख गोपाल बुढाथोकी गत साता थाइल्यान्डमा भएको एक गोष्ठी सकेर हाल काठमाडौँमा रहेका छन् । उनी भोलि बुधबार मेचीनगर फर्किने तयारीमा रहेको बुझिएको छ । उनी एकसाता अघिदेखि मेचीनगर बाहिर छन् ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार मेयर बुढाथोकी मन्त्रालय सम्बन्धी कामका लागि काठमाडौँमा हुनुहुन्छ । उनका अनुसार काठमाडौँमा रहँदा मेयरले काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदान लगायत आवास कम्पनीको स्वामित्वमा रहेको जग्गालाई नगरपालिकाको नाममा ल्याउने विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, मेचीनगरकी उपमेयर मीना उप्रेती नेकपा एमालेको महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेकी छन् । चुनावी तयारीका कारण उनी केही दिनदेखि काठमाडौँमै रहेकी छन् । एमालेको महाधिवेशनमा सहभागी हुन मेचीनगर वडा नं २ का वडाध्यक्ष दिपक बराल, १० का वडाध्यक्ष नारायण खनाल उतै छन् । बराल एमालेको महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

मेचीनगर नगरपालिकाका अधिकांश जनप्रतिनिधि एमालेबाट निर्वाचित भएकाले पार्टीको महाधिवेशनमा सहभागी हुन कतिपय वडाध्यक्षहरु समेत काठमाडौँ पुगेका छन् । सबै जनप्रतिनिधिहरुले औपचारिक रुपमा विदा लिएर नै नगर बाहिर गएको जनाइएको छ ।

जनप्रतिनिधिहरु नगर बाहिर रहेपछि नगरको कामकारवाही प्रभावित हुने हो कि भन्ने चासो स्थानीय स्तरमा देखिए पनि नगरपालिकाले भने कुनै असर नपरेको दाबी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार प्रशासनिक संयन्त्र नियमित रुपमा सञ्चालनमा छ र सेवा प्रवाह यथावत रहेको छ ।

‘नगर प्रमुख र उपप्रमुख बाहिर रहनु भएको भए पनि प्रशासनिक निर्णय प्रक्रिया प्रभावित भएको छैन,’ उनले भने, ‘आवश्यक परेमा समन्वय गरेर निर्णय लिने व्यवस्था मिलाइएको छ ।’

कार्यवाहक प्रमुखको हैसियतमा बस्नेतले नियमित प्रशासनिक काम, फाइल स्वीकृति, अनुगमन तथा समन्वयको काम गरिरहेका छन् । नगरपालिकाका कर्मचारीहरुका अनुसार दैनिक सेवासुविधा, विकास आयोजनाको प्रगति तथा नागरिकसँग सम्बन्धित कामहरु नियमित रुपमा अघि बढिरहेका छन् ।

स्थानीय स्तरमा भने जनप्रतिनिधिहरु एकैपटक नगर बाहिर रहँदा आलोचना पनि सुनिन थालेको छ । केही स्थानीयवासीले नगरका जनप्रतिनिधिहरु राजनीतिक कार्यक्रममा बढी केन्द्रित हुँदा स्थानीय समस्या ओझेलमा पर्ने जोखिम रहेको गुनासो गरेका छन् ।

यद्यपि नगरपालिकाले जनप्रतिनिधिहरु फर्किएपछि रोकिएका विषयलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ । मेयर बुढाथोकी आजै मेचीनगर फर्किने तयारीमा रहेकाले नगरको नियमित राजनीतिक तथा विकास सम्बन्धी गतिविधि पुनः सक्रिय हुने अपेक्षा गरिएको छ ।