काँकरभिट्टा । इण्डो–नेपाल कराते च्याम्पियनशिपमा पदक प्राप्त गर्ने मेचीनगरको टोलीलाई बिहीवार सम्मान गरिएको छ । भारतको इस्लामपुरमा यही पुस २० र २१ गते सम्पन्न च्याम्पियनशिपका पदक विजेता खेलाडी नगदराशीसहित सम्मानित भएका हुन् । 

३० देखि ७० केजी तौल समूह तथा काता र कुमुतेमा पदक जितेका खेलाडीहरुलाई काँकरभिट्टामा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

सो अवसरमा काँकरभिट्टा खानेपानी संस्थाकी कोषाध्यक्ष विमला तामाङलगायतका अतिथिहरुले पदक जितेर स्वदेश फर्किएका महिला तथा पुरुष खेलाडीलाई मेडल, प्रमाण पत्रसहित नगदराशी हस्तान्तरण गरेका थिए । 

उक्त कार्यक्रममा प्रतियोगिताका टीम कोचहरु मुक्ति काफ्ले, सन्तोष राई, सम्झना मगर, दीपक कोइराला, युवा समाजसेवी तेन्जिङ शेर्पालगायतको उपस्थिति थियो ।    

प्रतियोगितामा मेचीनगरबाट २४ जना खेलाडीले प्रतिस्पर्धामा भाग लिएका थिए । जसमध्ये १४ जनाले स्वर्ण, रजत र कास्य पदक हात पारेका थिए ।

युवा समाजसेवी सजित तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन प्रतियोगिताका टीम कोच तिलक तामाङले गरेका थिए । मेचीनगर -६ निवासी सामाजिक व्यक्तित्व सजित तामाङ र विमला तामाङले यसअघि पनि विभिन्न संघ संस्थालाई सहयोग गरेका थिए ।