मेचीनगर, १४ माघ । अपांगमैत्री सेवा स्वरोजगार संस्था मेचीनगरले यही फागुन ७ गतेदेखि सप्ताह महायज्ञ आयोजना गर्ने भएको छ । अपांगमैत्री भवन निर्माण गर्ने उद्देश्यले मेचीनगर–१० स्थित खुला परिसरमा पुराण आयोजना गर्न लागिएको हो ।
भवन अभावकै कारण कार्यालय सञ्चालनमा समस्या बेहोर्दै आएको संस्थाले आर्थिक सहयोग जुटाउन पुराणको आयोजना गर्ने भएको संस्थाका अध्यक्ष राम बुढाथोकीले बताए । संस्थामा आबद्ध ४५ जना फरक क्षमताका सदस्यहरुको हितका लागि भवन निर्माणको योजना अघि सारेको जनाइएको छ ।
भवन निर्माण गर्ने योजना सुनेर केही व्यक्ति र संस्थाले सहयोग गर्ने वचनसमेत दिएको संस्थाका अध्यक्ष बुढाथोकीले जानकारी दिए । पुराण फागुन ६ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।
उनका अनुसार मेचीनगर–१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले ६ लाख रुपैयाँ सहयोग गर्ने वचन दिएका छन् । उक्त संस्थाको भवन निर्माणका लागि वडा नं १४ ले २ कठ्ठा जग्गा दिएको छ । मेचीनगरको होल्डिङ सेन्टर छेउमा संस्थाले भवन बनाउनेछ ।
अन्य दानविरहरुले पनि सहयोग गर्ने भनेपछि पुराण लगाउन जुटेको संस्थाका उपाध्यक्ष विष्णु प्रसाईले बताए । पुराणका लागि १२ लाख खर्च हुने र २५ लाख संकलन गर्ने अनुमान गरिएको छ । पुराणमा पण्डित देवी सुमी मानव प्रमुख कथा वाचक रहेकी छन् ।
अव्यवस्थित रुपमा सञ्चालनमा रहेको सामुदायिक सेवा केन्द्र लालपानीको एउटा कोठामा उक्त संस्थाको कार्यालय राखिएको छ । उक्त कोठाबाट पनि संस्थाको कार्यालय हटाउन भनेपछि आफुहरु अन्योलमा परेको अध्यक्ष बुढाथोकीले गुनासो गरे ।

















