धुलाबारी, १६ माघ । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास बलिदानले लेखिएको छ । ती बलिदानलाई स्मरण गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) झापा क्षेत्र नं. १ का उम्मेदवार अशेष घिमिरेले माघ १६ गते झापा विद्रोहका शहिद वीरेन राजवंशीको जन्मस्थल ज्यामिरगढीमा रहेको शालिकमा माल्यार्पण गरेका छन् । शहिदको शालिक अघि उभिँदा उनले केवल श्रद्धाञ्जली मात्र अर्पण गरेनन्, बरु परिवर्तनका लागि शहिदहरुले देखेको सपना पूरा गर्ने दृढ संकल्पसमेत व्यक्त गरे ।

२०२८ साल फागुन २१ गते हत्या गरिएका शहिद वीरन राजवंशी झापा विद्रोहका प्रतीक पात्र हुन् । उनीसहित सयौँ शहिदहरुको बलिदानकै कारण आज नेपाली समाज परिवर्तनको यात्रामा अघि बढेको घिमिरेको भनाइ छ । ‘नेपालका हरेक परिवर्तनकारी आन्दोलनका शहिदहरुप्रति मेरो श्रद्धा छ,’ उनले भने, ‘उनीहरुको सपना पूरा गर्न म कहिल्यै विचलित हुनेछैन ।’

घिमिरेका अनुसार शहिदहरुको सपना सत्ता वा पदमा सीमित थिएन । त्यो सपना शोषणमुक्त, समानता र न्यायमा आधारित मानवीय समाजको थियो ।

‘फागुन २१ गते चुनाव हुँदैछ । त्यो केवल मतदानको दिन होइन, परिवर्तनको निरन्तरताको दिन हो,’ उनले भने, ‘ती वीरेनहरुले देखेको सपना पूरा गर्न म इमानदार रुपमा लागिपर्नेछु ।’उम्मेदवार घिमिरे आफूलाई केवल चुनावी प्रतिस्पर्धामा रहेको नेता मात्र नभई रुपान्तरणकारी अभियन्ताका रुपमा प्रस्तुत गर्छन् ।

उनका अनुसार राजनीतिक आन्दोलन तब मात्र अर्थपूर्ण हुन्छ, जब त्यसले समाजका पछाडि पारिएका वर्ग, श्रमिक, किसान, युवा र महिलाको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउँछ । ‘इमानको आन्दोलन, समाजका लागि आन्दोलन– यही मेरो प्रतिबद्धता हो,’ उनले जोड दिए ।

कार्यक्रममा सहभागीहरुले शहिद राजवंशीको योगदान स्मरण गर्दै आजको पुस्ताले त्यसबाट प्रेरणा लिनुपर्नेमा जोड दिए । उनीहरुका अनुसार शहिदको सम्झना औपचारिक कार्यक्रममा मात्र सीमित नभई व्यवहारमा उतारिनुपर्छ । घिमिरेले सबै मतदातालाई अपिल गर्दै भने, ‘हामीले निर्माण गर्न खोजेको नेपाली समाज मानवीय समाज हो । जहाँ अन्याय, विभेद र शोषणका लागि कुनै स्थान हुँदैन ।’

उनले शहिदहरुको सपना साकार पार्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै चुनावलाई परिवर्तनको अवसरका रुपमा उपयोग गर्न आग्रह गरे ।

झापा विद्रोहका शहिदहरुको सम्झनाबाट सुरु भएको यो राजनीतिक यात्रा अब चुनावी मैदानसम्म आइपुगेको छ । अशेष घिमिरेका लागि यो चुनाव व्यक्तिगत जित वा हारभन्दा माथि शहिदप्रतिको उत्तरदायित्व र समाज रुपान्तरणको निरन्तरता हो । शहिदहरुले बगाएको रगतले देखाएको बाटोमा हिँड्दै उनले त्यो सपना साकार पार्ने संकल्प दोहोर्याएका छन् ।