झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा १ की उमेदवार निशा डाँगीले बाहुनडाँगी कुनै दलको पनि दलको गढ नभएर सचेत नागरिकहरुको गढ भएको बताएकी छिन् । सँगै उनले परिवर्तनको उदघोष पूर्वबाट नै हुने पनि बताइन् । देशको सुदूरपूर्वी क्षेत्र झापा १ बाट प्रतिनिधि सभा उमेदवार बनेकी डाँगीले आज बाहुनडाँगीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् । स्थानीय नागरिकको उल्लेख्य सहभागिताका बीच आयोजित कार्यक्रममा उनले बाहुनडाँगीले वर्षौँदेखि भोग्दै आएको हात्ती आतंक, किसानले भोग्दै आएका तमाम समस्या जस्ता विषय समाधान गर्न घण्टी चिह्नमा मतदान गर्न आग्रह गरिन् । उसो त बाहुनडाँगीको हात्ती आतंक सधैँको चुनावी मुद्दा बन्ने गरेको छ भने यहाँका किसानले उत्पादन गरेको सुपारीको मूल्य किसान आफैले तोक्न पाउँदैनन् । उत्पादित फसलले बजार पाउँदैन । तर, अब सधैको चुनावी एजेण्डा बनेका यस्ता विषय सधैका लागि अन्त्य हुनुपर्ने उनको भनाई थियो ।

‘आज भन्दा दशकौँ अघि पनि मत माग्न आउने उमेदवारलाई बाहुनडाँगीले यस्तै समस्या सुनाउँथ्यो । आज पनि बाहुाडाँगीले यहि समस्या सुनाइरहनुपरेको छ । कयौँ नेता फेरिए, बाहुनडाँगीले दर्जनौ आश्वासन पाइरह्यो । तर, आज पनि अवस्था उस्तै छ,’ उनले भनिन्, ‘तर, अब यो बन्द हुनुपर्छ । अब आश्वासन होइन बाहुनडाँगीले समाधान पाउनुपर्छ । त्यसका लागि घण्टीमा मतदान गर्न आग्रह गर्दछु ।’ यसअघि पनि समानुपातिक प्रणालीबाट सांसद बनेर संसद प्रवेश गरेकी उनी अनुभवका हिसाबले पनि अब्बल छिन् । यसपटक भने प्रत्यक्ष प्रणालीबाट उमेदवार बनेकी उनको पक्षमा झापा १ मा माहौल बढ्दै गएको देखिन्छ । घरदैलो अभियानमा स्थानीय नागरिकको उल्लेख्य सहभागिता छ भने विशेष गरी जेन–जी पुस्तामा रास्वपाको ‘क्रेज’ बढ्दै गएको छ ।