धुलाबारी । नेपाली कांग्रेसको आगामी संगठनात्मक निर्वाचन नजिकिँदै जाँदा झापा क्षेत्र नं. १ मा नयाँ नेतृत्वका आकांक्षीहरूको चर्चा चुलिएको छ। यसैक्रममा मेचीनगर–१० का पूर्ववडाध्यक्ष एवं युवा नेता सुबेशकुमार पनेरुको नाम क्षेत्रीय सभापतिका लागि चर्चामा आएको छ।

पनेरुले उम्मेद्वारीको औपचारिक घोषणा गरिसकेका छैनन्। तर विद्यार्थी राजनीतिदेखि कांग्रेसको मूलधारमा सक्रिय रहँदै नेपाल विद्यार्थी संघ, पार्टी जिल्ला सदस्य, नगर सभापति तथा मेचीनगर–१० को वडाध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव उनका लागि बलियो आधारका रूपमा हेरिएको छ।

पनेरुलाई क्षेत्रीय सभापतिमा अघि बढाउनुपर्ने भन्दै कार्यकर्ताले छलफल र भेटघाटलाई तीव्र बनाएका छन्। युवा पुस्तासँग सहज सम्बन्ध, संगठन निर्माणको अनुभव र स्थानीय तहको नेतृत्व सम्हालेको पृष्ठभूमि उनका मुख्य बल मानिएको छ।

वर्तमान क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको कार्यकाल पूरा भएसँगै नयाँ नेतृत्वका लागि कांग्रेसभित्र प्रतिस्पर्धा सुरु भएको हो। अब पनेरुले कार्यकर्ताको आग्रह स्वीकार गर्दै उम्मेद्वारी घोषणा गर्छन् वा सहमतिको बाटो रोज्छन् भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुनेछ।

युवा नेतृत्व, संगठनमा नयाँ ऊर्जा र कार्यकर्तासँगको बलियो सम्बन्धलाई अघि सार्दै पनेरुको सम्भावित उम्मेद्वारीलाई कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।