मेचीनगर । साना किसान कृषि सहकारी संस्था लिमिटेड, बाहुनडाँगीको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनमा सम्पन्न साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, लेखापरीक्षण प्रतिवेदन, आगामी कार्ययोजना, बजेट तथा सदस्य सेवा विस्तारलगायतका विषयमा छलफल गरिएको थियो ।

संस्थाका अध्यक्ष इन्द्रकला पोखरेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा राष्ट्रिय सहकारी बैंक लिमिटेड मेचीनगर शाखाका प्रमुख प्रेमकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा मेचीनगर–४ का वडा सदस्य सीता मोतेसहित संस्थाका निवर्तमान अध्यक्ष टुकादेवी दाहाल भण्डारी तथा वर्तमान सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्य, शेयर सदस्य, कर्मचारी र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

WhatsApp Image 2026-09-23 at 2.12.16 PM (1)अध्यक्षमा इन्द्रकला पोखरेल अनुमोदित

साधारणसभाले संस्थाको नयाँ नेतृत्वलाई समेत अनुमोदन गरेको छ । संस्थाको अध्यक्षमा इन्द्रकला पोखरेल तथा उपाध्यक्षमा द्रौपदा भण्डारी रहेका छन् ।

त्यस्तै सञ्चालक समिति सदस्यहरूमा तुलसा प्रधान, सरिता अधिकारी, प्रेमबहादुर थापा, चन्द्रलाल ढुंगाना, सीता देवान, जगन्नाथ भण्डारी र राजेन्द्र न्यौपाने रहेका छन् ।

त्यसैगरी लेखा समिति संयोजकमा सपना निरौला तथा सदस्यहरूमा दुर्गा पौड्याल र निर्मला गुरागाईँ चयन भएका छन् ।

१७ करोड ९६ लाखभन्दा बढीको वासलात

२०५३ सालदेखि सञ्चालनमा रहेको संस्थाले आफ्नो २३औँ साधारणसभामा प्रस्तुत गरेको विवरणअनुसार संस्थाको कुल वासलात १७ करोड ९६ लाख ११ हजार ६ सय ३९ रुपैयाँ रहेको छ । संस्थाले समीक्षा अवधिमा २४ लाख ५ हजार ८ सय ४३ रुपैयाँ खुद नाफा गरेको जनाएको छ ।

त्यस्तै संस्थाले सदस्यहरूलाई १२ करोड ४ लाख ५४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने संस्थाको शेयर पुँजी १ करोड ९६ लाख १७ हजार रुपैयाँ रहेको छ ।

मेचीनगरका पाँचवटै वडालाई कार्यक्षेत्र बनाएको संस्थामा हाल २५२ वटा समूहमा १ हजार ४ सय ५६ घरपरिवार आबद्ध रहेको जनाइएको छ ।

सदस्यको आर्थिक सशक्तीकरणलाई प्राथमिकता

साधारणसभामा संस्थाको विगत वर्षको गतिविधि तथा प्रगतिको समीक्षा गर्दै आगामी दिनमा संस्थालाई थप व्यवस्थित, सदस्यकेन्द्रित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

अध्यक्षबाट प्रस्तुत चालु आर्थिक वर्षका कार्यक्रम तथा बजेटमाथि सदस्यहरूले छलफल गरी अनुमोदन गरेका थिए । संस्थाको आगामी कार्यदिशा, सदस्यको हित, संस्थागत सुशासन, वित्तीय अनुशासन तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने विषयमा जोड दिइएको थियो ।

WhatsApp Image 2026-09-23 at 2.12.16 PMसहकारीलाई केवल बचत तथा ऋण कारोबार गर्ने संस्थाका रूपमा नभई सदस्यको आर्थिक, सामाजिक तथा व्यावसायिक विकासको माध्यमका रूपमा अघि बढाउनुपर्नेमा सहभागी वक्ताहरूले जोड दिएका थिए । विशेषगरी कृषि क्षेत्रमा आबद्ध सदस्यलाई उत्पादन, व्यवसाय विस्तार, स्वरोजगार तथा आयआर्जनसँग जोड्ने गरी सहकारीका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो ।

प्रमुख अतिथि प्रेमकुमार श्रेष्ठले सहकारी संस्थाको दिगो विकासका लागि सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र सदस्यको विश्वास महत्वपूर्ण रहेको बताए । उनले सञ्चालक समिति, कर्मचारी र शेयर सदस्यबीच प्रभावकारी समन्वय र सहकार्य भएमा संस्थाले अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सक्ने धारणा राखे ।

उत्कृष्ट सदस्य तथा समूह सम्मानित

साधारणसभाका अवसरमा संस्थाका विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने शेयर सदस्य तथा समूहलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो ।

उत्कृष्ट ऋणीतर्फ रिता चौहान, उत्कृष्ट बचतकर्तातर्फ रमा थापा, उत्कृष्ट समूहतर्फ समूह नं. २, उत्कृष्ट अन्तरसमूहतर्फ अन्तरसमूह ८ ‘क’ तथा ज्येष्ठ नागरिकतर्फ गोपाल राईलाई सम्मान गरिएको थियो। सम्मानित सबैलाई नगद १ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

संस्थाले सदस्यलाई बचततर्फ प्रोत्साहित गर्ने, ऋणको सदुपयोग बढाउने तथा समूहगत रूपमा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले उत्कृष्ट सदस्य तथा समूहलाई सम्मान गर्दै आएको जनाएको छ ।

त्यसैगरी उत्कृष्ट कर्मचारीका रूपमा संस्थाका प्रबन्धक नरेन्द्रकुमार भट्टराईलाई नगद ५ हजार रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

विद्यार्थीलाई पनि सम्मान

संस्थाले आफ्ना सदस्यका छोराछोरीको शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्दै सम्मानसमेत गरेको छ । सामुदायिक विद्यालयतर्फ एसईई उत्तीर्ण सदस्य सुशीला नेपालकी छोरी नविना भट्टराईलाई २ हजार १ सय रुपैयाँ तथा कक्षा १२ उत्तीर्ण सदस्य रेनुका चालिसे दुलालका छोरा प्रख्यात दुलाललाई ३ हजार १ सय रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

यस्ता कार्यक्रमले सदस्य तथा उनीहरूका परिवारलाई शिक्षा, बचत, उत्पादन र आर्थिक गतिविधिमा थप प्रोत्साहन मिल्ने संस्थाले जनाएको छ ।

आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता

साधारणसभाले आगामी आर्थिक वर्षका लागि आवश्यक कार्यक्रम सञ्चालन, संस्थाको आर्थिक तथा प्रशासनिक व्यवस्थापन, सदस्य सेवा विस्तार तथा संस्थागत गतिविधिलाई निरन्तरता दिने विषयमा निर्णय गरेको छ ।

WhatsApp Image 2026-09-23 at 2.12.11 PM (1)संस्थाले आगामी दिनमा सदस्यको आवश्यकता र अपेक्षालाई केन्द्रमा राख्दै बचत तथा ऋण सेवाका साथै कृषि, उत्पादनमूलक गतिविधि, आयआर्जन र सदस्यको आर्थिक क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा उपाध्यक्ष द्रौपदा भण्डारीले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन मुख्य प्रबन्धक पोषककुमार दर्जीले गरेका थिए ।

सभाको अन्त्यमा अध्यक्ष इन्द्रकला पोखरेलले साधारणसभामा उपस्थित प्रमुख अतिथि, अतिथि, शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, कर्मचारी तथा सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संस्थालाई थप सबल, व्यवस्थित र सदस्यकेन्द्रित बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।