मेचीनगर । नेपाली कांग्रेसका युवा नेता सुदय पनेरुले पार्टीका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो आदर्श नेताका रूपमा लिएको बताएका छन् । लामो समय विद्यार्थी तथा युवा संगठनमा रहेर काम गरेका पनेरुले पार्टीको नगर सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । संगठन सञ्चालनको अनुभवका कारण आफू अहिले क्षेत्रीय सभापतिका लागि योग्य उम्मेदवार रहेको उनको दाबी छ ।
पार्टीभित्र नयाँ पुस्ताको आवाजलाई स्थापित गर्दै कांग्रेसलाई समयअनुकूल बनाइनुपर्नेमा पनेरुको जोड छ । ‘युवाको भावना र परिवर्तनको चाहनालाई पार्टीको नीति तथा नेतृत्वसँग जोड्न सक्नुपर्छ,’ उनले भने ।
मेचीनगर नगर सभापतिको जिम्मेवारीमा रहँदा पार्टी संगठन विस्तार तथा स्थानीय तहमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन आफूले भूमिका निर्वाह गरेको पनेरुको दाबी छ । सोही क्रममा विश्वप्रकाश शर्मालाई झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी गराउन पनि आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
निर्वाचनको अन्तिम तयारी भइरहेका बेला पनेरुले आफूलाई कार्यकर्ताको भरोसा र नयाँ पुस्ताको समर्थन र अग्रजहरुको आशीर्वाद रहेको दाबी गर्दै क्षेत्रीय सभापतिमा विजयी हुने विश्वास व्यक्त गरेका छन् ।

















