मेचीनगर । ‘गगन थापा रातो टिका लगाएर आउनु । कृष्णप्रसाद सिटौलाले जय गुरु ! जय गुरु !! भन्दै आउनु । दम छ भने गगनले यही लाइन (तेस्रो धार) बोकेर सिटौला समुहबाट अध्यक्ष उठ्नु आउने अधिबेशनमा । कहिले देउवा त कहिले शेखरको दैलो नचार्नु । कांग्रेसमा शेखर कोइरालाको लाइनसँग गगनको सैद्धान्तिक मिलान छैन ।’ मेचीनगरका क्रियाशील कांग्रेस नेता रुपसागर अधिकारीले सामाजिक सञ्जालमार्फत दिएको कडा अभिव्यक्ति हो, यो । यो अभिव्यक्तिले के प्रष्ट हुन्छ कि कांग्रेस पार्टी भित्र गुटगत राजनीतिले निकै ठूलो प्रभाव पारिरहेको छ भन्न सकिन्छ ।
हरेक दिनजसो सञ्जालमा राजनीतिक समसामयिक विषयमा खरो टिप्पणी गर्दै आएका अधिकारीले आफ्नो पार्टीभित्रको गुटबन्दीको पर्दाफास गर्ने प्रयास गरिरहेका छन् । कांगे्रसको माथिल्लो समितिदेखि तलसम्म पार्टी भित्रको गुटलाई सञ्जालमार्फत छताछुल्ल पार्दै आएका छन् । कांग्रेस पार्टीका प्रदेश प्रतिनिधि समेत रहेका अधिकारीले गुटको राजनीतिले गर्दा वास्तविक कार्यकर्ता पछाडि परेको बताएका छन् । उनले केही महिना अघि झापा कांग्रेस भित्रको गुटगत चरित्रलाई लिएर टिप्पणी गरेका थिए । लगतै कमेन्ट बक्समा जिल्लादेखि क्षेत्रीय स्तरका नेताहरुले प्रतिवाद गरेका थिए । तर, अधिकारीले पार्टी तथा नेताहरुविरुद्ध लेख्न छाडेका छैनन ।
कांग्रेस नेता अधिकारीले पैसाको भरमा पावर देखाउने प्रवृत्ति पार्टीभित्र मौलाउँदै गएकाले त्यसको विरोध गरेको बताएका छन् । उनले कांग्रेस पार्टीलाई विधि विधान विपरित केही नेताहरुले चलाउँदा गुट हावी हुँदै गएको टिप्पणी गरेका छन् । ‘कांग्रेस पार्टी गुटको राजनीतिले थिलथिलो भएको छ,’ उनले भने, ‘हामी जस्ता सच्चा कार्यकर्ताले ठाउँ नै पाएका छैनौँ । त्यसलाई आम कार्यकर्ता सामु बुझाउने प्रयास गरेको मात्र हुँ ।’ नेपाली कांग्रेस मेचीनगर सभापति सुदय पनेरुले सामाजिक सञ्जालमार्फत अधिकारीले दिएको अभिव्यक्ति राम्रो नभएको प्रतिक्रिया दिए । उनले सञ्जालमा व्यक्त गरेका विचारहरुलाई लिएर कुरा उठिरहेको प्रतिक्रिया पनि दिए । ‘उहाँ (अधिकारी) को विषयमा कुरा सबैतिरबाट उठिरहेको छ,’ नगर सभापति पनेरुले भने, ‘आगामी बैठकमा उहाँको विषयलाई छलफलमा लैजान्छौँ ।’ कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले स्वतन्त्र अभिव्यक्ति राख्न पाउने अधिकार भए पनि पार्टी तथा नेताहरुलाई खुल्याउन भने नहुने उनको भनाइ छ ।