मेचीनगर । झापाको मेचीनगर पछिल्लो समय सु रक्षा निकायहरुको विशेष चासोको केन्द्रमा रहँदै आएको छ । विशेषतः नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित काँकरभिट्टा नाका भन्सार, व्यापार, आवत–जावत र सुरक्षाका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र भएकाले यहाँको अवस्था बुझ्न र नियन्त्रणको रणनीति तय गर्न सुरक्षा सम्बन्धी बैठकहरु पटक–पटक आयोजना भइरहेका छन् । केही साता अघि सशस्त्र प्रहरी बलका एसएसपी दिग्वीजय सुवेदीले मेचीनगरका व्यवसायीहरुसँग भेटघाट गर्दै काँकरभिट्टा नाकामा देखिएका विभिन्न समस्याबीच छलफल गरे । खुला सीमा, सुरक्षा अवस्था, चोरी–तस्करी, अवैध ओसार–पसार, मानव तस्करी तथा लागूऔषध कारोबारजस्ता विषयमा व्यवसायीहरुले गुनासो गर्दा त्यसको समाधानमा सुरक्षालाई कसरी मजबुत बनाउने भन्ने विषय छलफलको केन्द्रमा थियो ।
उक्त छलफल लगत्तै काँकरभिट्टा नाकाको सेवा र सुरक्षा सुदृढीकरणका विषयमा थप बैठक आयोजना गरियो । सो बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरीका एसपी, जनपद प्रहरीका एसपी लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैठकमा सीमा क्षेत्रमा हुने आवत–जावत व्यवस्थित गर्ने, अवैध गतिविधि न्यूनिकरण गर्ने, सीसीटीभी निगरानी प्रविधि विस्तार गर्ने, संयुक्त गस्ती बढाउने र सूचनाको आदान–प्रदान थप प्रभावकारी बनाउने विषयमा व्यापक छलफल भएको बताइएको छ ।
मेचीनगरको काँकरभिट्टा नाका पूर्वी नेपालकै सबैभन्दा व्यस्त नाकामध्ये एक हो । यहाँबाट भारतको सिलिगुडी, दार्जिलिङ लगायतका क्षेत्रसँग प्रत्यक्ष सम्पर्क हुने भएकाले दैनिक सयौँ सवारी साधन तथा हजारौँ मानिसको आवत–जावत हुने गरेको छ । यसकारण पनि सानो कमजोरीले ठूलो सुरक्षा जोखिम निम्त्याउने सम्भावना रहन्छ । खुला सिमाना भएका कारण अपराधी तत्वले यही क्षेत्रलाई प्रयोग गर्ने गरेको सुरक्षा निकायको निष्कर्ष छ । सुरक्षा अधिकारीहरुका अनुसार काँकरभिट्टा क्षेत्रमा पछिल्लो समय अवैध ओसार–पसार बढ्दो क्रममा देखिएको र अन्तरदेशीय गिरोह सक्रिय बन्न खोजिरहेको सूचनाहरु आएपछि सतर्कता बढाइएको हो । साथै, यहाँको राजनीतिक, सामाजिक तथा आर्थिक गतिविधि पनि चनाखो भएर नियाल्नुपर्ने आवश्यकता देखिएको छ ।
स्थानीय व्यवसायीहरु भने सुरक्षाको मजबुती आवश्यक भएको बताउँछन् । उनीहरुका अनुसार सीमावर्ती बजारमा भयमुक्त वातावरण नबन्दा व्यापारमा नकारात्मक असर पर्न सक्छ । ‘सुरक्षा व्यवस्थापन व्यवस्थित भयो भने मात्र व्यापार फस्टाउँछ, पर्यटक र ग्राहक पनि निडर भएर आउँछन्,’ एक स्थानीय व्यवसायी भन्छन् । काँकरभिट्टा केवल एक नाका मात्र नभई राष्ट्रिय सुरक्षा, अर्थतन्त्र र अन्तरदेशीय सम्बन्धसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण केन्द्र भएको स्पष्ट हुन्छ । यही संवेदनशीलतालाई दृष्टिगत गर्दै मेचीनगरमा सुरक्षा निकायहरु पटक–पटक छलफलमा जुटिरहेका छन् ।

















