झापा, २६ बैशाख कोशी प्रदेश खेलकुद विकास बोर्डले करातेका अन्तर्राष्ट्रिय प्रशिक्षक प्रभाकर राना मगरको संयोजकत्वमा नेपाल कराते महासंघ कोशी प्रदेश तदर्थ समिति गठन गरेको छ । बोर्डको २७ औँ बैठकले मगरको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

बोर्डले महासंघको आन्तरिक विवादका कारण प्रदेशमा वैधानिक महासंघ गठन नभएकाले तीन महिना भित्र अधिवेशन गरी पूर्ण समिति गठन र बोर्डमा दर्ता गराउने जिम्मेवारीसहित तदर्थ समिति गठन गरेको बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी दिए ।

तदर्थ समितिको सदस्यमा अनिस राजधामी, रेनुका राई, कमिककुमार राई, अनिल नेपाल, रुपा लिम्बू, रविन राई, मोतीचन्द्र राई, दिपक मगर, विप्लव राई, सागर राउत रहेको कराते महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाईंले बताए ।