झापा, २६ बैशाख । नेकपा (एकीकृत समाजवादी) झापाको १० औं जिल्ला अधिवेशन वैशाख २७ गतेदेखि सुरु हुने भएको छ । दुईदिने अधिवेशन वैशाख २७ र २९ गते बिर्तामोडस्थित इन्द्रेणी ब्यांकवेटमा आयोजना गरिनेछ । अधिवेशनको उद्घाटन पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा उपाध्यक्ष जगनाथ खतिवडा, उपमहासचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, सचिव बलदेव चौधरी, प्रदेश अध्यक्ष सरिता खड्का लगायत पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहनेछ ।
जिल्लाका पाँचवटै संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र तथा १५ वटै पालिकाबाट १ हजार १ सयभन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता रहनेछ । त्यस्तै, पार्टीका विभिन्न जनवर्गीय संगठनहरू अनेमसंघ, अनेकिसंघ, अनेरास्ववियू, नेपाल आदिवासी जनजाति समाजवादी, खेलकुद महासंघ समाजवादी, मुक्ति समाज, मजदुर संगठन, एकीकृत कर्मचारी संगठन तथा समाजवादी प्रेस संगठनको प्रतिनिधिमूलक सहभागिता पनि रहनेछ ।
उद्घाटन समारोहमा झापाली वामपन्थी आन्दोलनका अग्रज तथा अगुवाहरुलाई विशेष सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ । अधिवेशनलाई लक्षित गर्दै झापाका प्रमुख बजार क्षेत्रमा अधिवेशनको लोगो टाँस्ने, चुनाव चिन्ह ‘कलम’ अंकित झण्डा राख्ने, नारासहितको ब्यानर र स्वागत गेट निर्माण कार्य अघि बढाइएको जिल्ला नेता बिपी भट्टराईले जानकारी दिएका छन् ।
बन्दसत्रलाई लक्षित गर्दै पार्टी पोलिटब्यूरो सदस्य तथा युवा नेता अशेष घिमिरेको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा झापा इन्चार्ज तथा पूर्व सांसद पुष्पराज पोख्रेल, केन्द्रीय सदस्य तथा सहइन्चार्ज नीलमणि बराल, भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठ र केन्द्रीय सदस्य सविता भेटवाल भण्डारी सदस्य रहेका छन् ।