मेचीनगर । किरातेश्वर माङहिम, किरात याक्थुम चुम्लुङ र किरात राई यायोख्या मेचीनगर–९ ले मागुरमाडीस्थित किरातेश्वर माङहिममा भव्यताका साथ उभौली पर्व मनाएको छ ।

प्रकृतिपुजक किरातहरूको अन्नबाली चढाउने पर्व यक्वा सेवाको (उभौली) अवसरमा सांस्कृतिक कार्यक्रम गरेर पर्व मनाइएको हो । सोमबार बिहानैदेखि किरातेश्वर माङहिममा सेवापूजा गरिएको थियो ।

किरातेश्वर माङहिम समितिका अध्यक्ष कविन्द्रविक्रम नेम्वाङको अध्यक्षता तथा कोशी प्रदेश सांसद गोपाल तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन माङहिम सचिव ज्ञानेन्द्र सम्वाहाम्फेले गरेका थिए ।

माङहिमका सल्लाहकार प्रेम सम्वाहाम्फेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा किरात याक्थुम चुम्लुङ जिल्ला उपाध्यक्ष हस्तबहादुर आङदेम्बे, किरात याक्थुम चुम्लुङ मेचीनगर अध्यक्ष विरू बेघा, वडा नं–९ का वडा अध्यक्ष कञ्चन तामाङले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । किरात याक्थुम चुम्लुङ वडा नं. ९ र १० ले माङलाङ केलाङ नाच, किरात राई यायोख्या वडा नं. ६ र ९ ले साकेला नाच, मेचे शिवियारी नाच, नेपाल तामाङ घेदुङ संघको डम्फु नाच, नेवारी समुदायको लाखे नाच, संघिनी नाच देखाइएको थियो ।