झापा । मेचीनगरमा क्रियाशील स्वास्थ्य तथा वातावरण मञ्चले इलाका प्रहरी कार्यालय काँकरभिट्टालाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। शनिबार इलाका प्रहरी कार्यालयको प्रांगणमा आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष गणेश मैनालीले सामग्रीहरू प्रहरी निरीक्षक बिरेन्द्र कोइरालालाई हस्तान्तरण गरेका हुन्।
मञ्चले कार्यालयलाई ६० थान झुल, २ थान डस्टबिन, २० प्याकेट सेनेटरी प्याड तथा प्राथमिक उपचार सामग्रीहरू प्रदान गरेको हो। अध्यक्ष मैनालीले प्रहरीलाई समुदायको पहिलो अभिभावकको रूपमा उल्लेख गर्दै जनताको सुरक्षामा निरन्तर खटिने सुरक्षाकर्मीलाई सानो सहयोगले पनि मनोबल बढाउने विश्वास व्यक्त गरे।
प्रहरी निरीक्षक कोइरालाले मञ्चप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले प्रहरीलाई सुरक्षित र स्वस्थ वातावरणमा सेवा दिन सहयोग पुग्ने बताए। कार्यक्रममै मञ्चले मेचीनगर क्षेत्रमा झुल वितरण अभियान सुरु गर्ने घोषणा पनि गरेको छ। अध्यक्ष मैनालीका अनुसार नगरपालिकाभित्रका ११ वटा सामुदायिक विद्यालयमा क्रमशः झुल वितरण गरिनेछ। गर्मी मौसमका कारण लामखुट्टेको प्रकोप बढ्ने भएकाले बालबालिकाको सुरक्षाका लागि यो पहल गरिएको मैनालीले बताए।
संस्थाले झुल वितरणसँगै वातावरणीय सरसफाइ, महिनावारी स्वच्छता, कचरा व्यवस्थापन र प्राथमिक उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू विद्यालयमा सञ्चालन गर्ने योजना बनाएको छ। कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, प्रहरी, शिक्षक तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। स्वास्थ्य तथा वातावरण मञ्च विगत पाँच वर्षदेखि मेचीनगरमा स्वास्थ्य, स्वच्छता र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील छ।