झुलन रेग्मी
धुलाबारी । समयमै दमकल नपुग्दा मेचीनगर–९ स्थित एउटा घर आगलागीबाट पूर्णरुपमा ध्वस्त भएको छ । मेचीनगरको कमलचोकस्थित मनिराज अधिकारी र स्वस्तिका अधिकारीको घरमा विद्युतीय सर्ट भएर आगो लागेको थियो ।
मंगलवार विहान करिब ८ः३० बजेतिर घरको धुरीबाट आगो सल्किएको थियो । धुरीमा आगोको मुस्लो देखेपछि स्थानीयले फोन गरेर तत्काल मेचीनगरको दमकल बोलाएका थिए । तर, घर पूरै जलेपछि मात्रै दमकल त्यहाँ पुगेको स्थानीयले बताएका छन् ।
आगलागी भएको ठाउँमा मेचीनगरको दमकल ढिलो गरी पुग्नु यो नौलो घटना होइन । यसअघि पनि मेचीनगरको दमकल ढिलो पुग्ने गरेको गुनासो स्थानीयले गर्दै आएका छन् । कमलचोकमा भएको आगलागीको घटनामा पनि दमकल ढिलो पुगेपछि मेचीनगर नगरपालिका आलोचित बनेको छ ।
घरमा आगो दनदनी लागेपछि स्थानीयले निभाउने प्रयास गरेका थिए । तर, मान्छेका भरमा पानी छ्यापेर आगो नियन्त्रणमा आउन सकेन । त्यसैले घर पूर्णरुपमा जलेर खण्डहर बनेको छ । ‘दमकल समयमै आइपुगेको भए आगो निभाउन सकिन्थो,’ एक स्थानीयले भने । आगो सल्किएर घर पूरै नष्ट भइसक्दा दमकल घटनास्थल पुगेपछि स्थानीयले फर्काइदिएका थिए ।
आक्रोशित स्थानीयले घर जलेर सकिएपछि किन आएको भन्दै दमकललाई बाटैबाट अगाडि बढ्न दिएनन् । तर, दमकल कर्मचारीले भने सडक निर्माणको काम चलिरहेकाले आउन ढिला भएको बताएका छन् । अहिले धुलाबारी माथि थोप्लेविरानसम्मको बाटोको निर्माण कार्य चलिरहेकाले बीचबीचमा उक्त सडक बन्द गरिएको छ ।
आगलागीबाट घरसहित घरभित्र रहेका सम्पूर्ण सामान, लत्ता–कपडा आदि पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट ११ लाख बराबरको क्षति भएको छ । विपन्न परिवारको घर जलेर ध्वस्त भएपछि परिवार विचल्लीमा परेको छ । स्थानीयले उक्त परिवारका लागि सहयोगको अपिल गरिरहेका छन् । सामाजिक अभियन्ताहरु आगलागी भएको ठाउँमा पुगेर राहतका निम्ति जुटेका छन् ।
दमकलका कर्मचारी के भन्छन् , विराज पौडेल
विहान हामीलाई ८ः४१ बजे फोन आएको थियो । मैलै नै फोन रिसिभ गरेको हुँ । फोन आएलगत्तै तुरुन्तै हामी दमकल लिएर आगलागी भएको ठाउँतिर गयौं । धुलाबारी बजार सिरान पुगेपछि बाटो बन्द भएकाले हामी लिलाबस्ती हुँदै चियावल्नी गाउँको बाटो हुँदै अगाडि बढ्न खोजेका थियौं ।
तर, त्यहाँ बाटोमा हाम्रो दमकल फस्यो । हामीले त्यहीँबाट तुरुन्त अर्को दमकललाई फोन गर्यौं । उक्त दमकल आगो लागेका ठाउँमा करिब ८ः५८ बजे पुगेको थियो । तर, स्थानीयले ढिलो आएको भन्दै ढुंगामुडा गरेपछि पानी नहाली फर्कियो । नगरपालिका प्रशासनलाई जानकारी गराएर त्यहाँबाट हामी फर्किनु परेको दमकलका कर्मचारी विराज पौडेल बताउँछन् ।