झापा । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले आफ्नै कमजोरीका कारण गल्दै झर्दै गएको टिप्पणी गरेका छन्। उनले एमालेमा निराशा मात्र बाँकी रहेको र त्यहाँ कोही पनि स्वाभिमानसहित नबसेको जिकिर गरे।

झापामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै भुसालले भने, "एमालेमा दोस्रो पुस्ता पनि स्वार्थमै डुबेको छ, उनीहरू स्वार्थमा पार्टीभित्र र बाहिर बिकिसकेका छन्।"

दश बुँदे समूहका नेताहरूमाथि लक्षित गर्दै उनले उनीहरूमा जोखिम मोल्ने आँट नरहेको आरोप लगाए। सत्तामा टिकिरहन जे पनि गर्न सक्नेहरूको गठबन्धनले मुलुकलाई अझै अस्थिरतातर्फ धकेल्ने चेतावनी उनले दिए।

"यही ताल हो भने ८४ सालको निर्वाचनमा कसैको पनि स्पष्ट बहुमत आउने देखिन्न," भुसालले भने, "यो अवस्थामा चुनावले झन डरलाग्दो अस्थिरता निम्त्याउनेछ।"

कार्यक्रममा पार्टीको झापा जिल्लाबाट हालै निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। अध्यक्ष वीपी भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा इन्चार्ज पुष्प पोखरेलले पनि मन्तव्य राखेका थिए।