झापा, जेठ ११ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) झापा जिल्ला कमिटीले स्थापना वर्ष २०७८ देखि २०८१ चैत्र मसान्तसम्मको आर्थिक कारोबार विवरण जिल्ला निर्वाचन कार्यालय झापामा बुझाएको छ। पार्टीका अनुसार चार वर्षको अवधिमा कुल रु २५ लाख ६ हजार ६१५ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धता स्वरूप पार्टीले उक्त विवरण निर्वाचन आयोगमार्फत बुझाएको हो।बुझाउने टोलीमा पार्टीका जिल्ला इन्चार्ज नीलमणि बराल, सहइन्चार्ज चन्द्रा श्रेष्ठ, अध्यक्ष बी.पी. भट्टराई, उपाध्यक्ष सरस्वती लिम्बू, सचिव सानुकुमार लामा, उपसचिवद्वय श्रीप्रसाद मिश्र र उदय बराइली तथा जिल्ला सदस्य लक्ष्मण खतिवडा सहभागी थिए।
उनीहरूले संयुक्त रूपमा आर्थिक विवरण जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलकुमार न्यौपानेलाई बुझाएका हुन्। बुझाइसकेपछि कार्यालय प्रमुख न्यौपानेले समाजवादी पार्टीले समयमै आर्थिक विवरण बुझाएर अनुकरणीय उदाहरण प्रस्तुत गरेको बताए। “हामीले पत्र काटेपछि मात्र विवरण बुझाउने प्रचलन छ। तर समाजवादी पार्टी झापाले स्वस्फूर्त रूपमा विवरण बुझाएर नयाँ राजनीतिक संस्कारको थालनी गरेको छ,” उनले भने।
सो अवसरमा पार्टीले आफ्नो हालको आन्दोलन र कार्यक्रमको जानकारी पनि गराएको थियो। ‘शुसासन र रोजगारीः समाजवादको तयारी’ भन्ने मूल नाराका साथ पार्टी अगाडि बढिरहेको जानकारी दिइयो। जिल्ला इन्चार्ज नीलमणि बरालले आर्थिक पारदर्शिता समाजवादको आधार भएको भन्दै हरेक आर्थिक विवरण निर्वाचन आयोगमा पेश गर्नु पार्टीको नीति भएको बताए। जिल्ला अध्यक्ष बी.पी. भट्टराईले राजनीतिक पारदर्शिता र जवाफदेहीताको अभ्यासबाट मात्र जनविश्वास हासिल गर्न सकिने बताउँदै पार्टीले त्यसैको अभ्यास गरिरहेको बताए। उनले नेपालमा जिल्ला तहमा निर्वाचन कार्यालयमा आर्थिक विवरण बुझाउने पहिलो पार्टी नै समाजवादी रहेको जानकारी दिए ।
पार्टी सहइन्चार्ज चन्द्रा श्रेष्ठले सामाजिक रूपान्तरणका कार्यक्रमसँगै आर्थिक सुशासनलाई पनि समान महत्व दिइएको उल्लेख गरिन्। सचिव सानुकुमार लामाले आर्थिक विवरण बुझाउनु आन्तरिक अनुशासन र लोकतान्त्रिक मूल्यको अभिव्यक्ति भएको धारणा राखे। पार्टीले बुझाएको प्रतिवेदनमा आम्दानीका स्रोत, खर्च विवरण, बैंक कारोबार र लेखा परीक्षणसम्बन्धी विवरण संलग्न गरिएको छ। अधिकांश खर्च सांगठनिक तालिम, प्रचार–प्रसार, कार्यालय सञ्चालन र जनसंपर्क कार्यक्रममा गरिएको उल्लेख गरिएको छ। राजनीतिक पारदर्शिता, जवाफदेहीता र संस्थागत अभ्यासको दृष्टिले समाजवादी पार्टी झापाले चालिएको यो कदम स्थानीय राजनीतिमा उदाहरणीय अभ्यासको रूपमा हेरिएको छ।