मेचीनगर । मेचीनगर नगरपालिकाले ल्याउन लागेको सञ्चार सम्बन्धी कानूनको मस्यौदाका विषयमा अधिकांश सञ्चारकर्मीलाई बाहिर राखेर छलफल चलाइएको छ । सोमबार नगरपालिकाको सभाहलमा छलफल कार्यक्रम आयोजना गरिएको थियो । तर, अधिकांश सञ्चारकर्मी अनुपस्थित रहेका थिए । 

आइतबार राति आकस्मिक ढंगबाट सामाजिक सञ्जालमार्फत सूचना जारी गरिएको थियो । सूचनामा उपस्थित हुन मेचीनगरका सबै सञ्चारकर्मीहरुलाई आव्हान गरियो । तर, कार्यक्रमको महत्वलाई नबुझेको भन्दै आकस्मिक रुपमा आयोजना गरिएपछि नगरपालिकाको कार्यशैलीप्रति सञ्चारकर्मीहरुले आपत्ति जनाएका छन् । 

सञ्चार ऐनका विषयमा पत्रकारलाई जानकारी गराउनु पर्ने हो । किनकि सञ्चार ऐन तिनै सञ्चार संस्था तथा पत्रकारमा लागू हुने नियम तथा सर्त हो । तर, यति महत्वपूर्ण कार्यक्रमका विषयमा धेरैजसो पत्रकार अनविज्ञ नै छन् । अझ मेचीनगरमा सञ्चार सम्बन्धी काम गर्ने निकाय मेचीनगर सञ्चार प्रतिष्ठान नै यस विषयमा जानकार छैन । सञ्चारको क्षेत्रमा काम गरिरहेको प्रतिष्ठानलाई ‘बाएस’ गरेर कार्यक्रम आयोजना गर्नुले विभिन्न आशंका पैदा भएको छ । 

मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाईंले कार्यक्रमका बारेमा आफूहरुलाई जानकारी भएको तर प्रतिष्ठानको ब्यानरमा कार्यक्रम नभएकोमा आपत्ति जनाए । ‘मेचीनगर नगरपालिकाले ल्याउन लागेको सञ्चार सम्बन्धी कानूनको मस्यौदाका विषयमा छलफल गर्न भनेर खबर प्राप्त भएकै हो,’ उनले भने, ‘प्रतिष्ठानलाई बाएस गरेजस्तो अनुभूति भएपछि म कार्यक्रम स्थलमा नबसी फर्किएँ ।’

सञ्चार ऐनका विषयमा बोलाइएको छलफल कार्यक्रममा ७ जना जति सञ्चारकर्मी मात्रै सहभागी थिए । जबकि मेचीनगरमा ४० जना भन्दा बढी सञ्चारकर्मी छन् । झन्डै २० वटा सञ्चारमाध्यम अहिले पनि सञ्चालनमा छन् । कार्यक्रममा नगरपालिकाको तर्फबाट नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी सहभागी थिए ।

मस्यौदा प्रस्तुती पछि नगरप्रमुख बुढाथोकीले सञ्चार कानूनको बारेमा जानकारी भएको र यस बिषयमा स्थानीय सरोकारवालाहरुसँग थप छलफल गरी कार्यपालिकामार्फत आगामी नगर सभामा लैजाने बताए ।

सञ्चार सम्बन्धी कानूनको मस्यौदा मेचीनगरका सञ्चारकर्मीहरुले समेत अध्ययन गरी त्यसबारे सुझाव दिन नगर उपप्रमुख उप्रेतीले आग्रह गरिन् । नगरभित्र क्रियाशील सञ्चारकर्मी र प्रेस क्लव मेचीनगरका तर्फबाट समेत सुझाव आएपछि थप छलफल गरी अगाडि बढ्ने नगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तथा अधिवक्ता तारामणि सापकोटाले सञ्चार सम्बन्धी कानूनी व्यवस्थाका बारेमा जानकारी गराउँदै प्रस्तावित सञ्चार सम्बन्धी कानूनको मस्यौदाका बारेमा प्रस्तुतीकरण दिएका हुन् ।