मेचीनगर । मेचीनगरका सञ्चारकर्मीहरुको छाता संस्था प्रेस क्लब मेचीनगरले नगरपालिकाको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । प्रेस क्लबले नगरपालिकाले जारी गर्न लागेको ‘मेचीनगर सञ्चार ऐन’ लगायतका अन्य विषयलाई लिएर आपत्ति जनाएको हो । क्लवका अध्यक्ष प्रकाश पौडेल र सचिव प्रविण अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चार ऐन ल्याउनु अघि सञ्चारकर्मीहरुसँग बृहत छलफल गरी अघि बढ्न माग गरिएको छ ।
प्रेस क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेचीनगर नगरपालिकाले जारी गर्न लागेको ‘मेचीनगर सञ्चार ऐन’को सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ । स्वयं नगरपालिकाको अंग सञ्चार प्रतिष्ठानले समेत जानकारी नपाउने गरी ऐनको प्रारुप तयार पारिएको छ । उक्त ऐनलाई रातारात पारित गर्ने प्रयास लोकतान्त्रिक अभ्यासको उपहास हो ।’
प्रेस क्लब मेचीनगरले सञ्चारमाध्यमहरू माथि विभेदपूर्ण कार्य गरेको पनि जनाएको छ । मेचीनगरका सञ्चार संस्थाहरुलाई बाएस गरेर नगरपालिका अगाडि बढेको क्लबले ठहर पनि गरेको छ । यस्तै, क्लवले नगरपालिकाले जारी गर्ने कुनै पनि सूचना नगरका सञ्चारमाध्यमहरुबाट स्वस्फूर्त ढंगले प्रकाशित हुनुपर्नेमा जनप्रतिनिधि एवम् कर्मचारीका सामाजिक सञ्जालबाट आफूखुशी सम्प्रेषण गरिँदै आएकोमा आपत्ति जनाएको छ । सञ्चारमाध्यमको संरक्षण तथा प्रवद्र्धनमा मेचीनगर नगरपालिका गम्भीर बन्न पटक–पटक जानकारी गराए पनि अनुदार बन्दै आएको छ ।