मेचीनगर । सञ्चार क्षेत्रमा क्रियाशील मेचीनगरका पत्रकारहरुले नगरपालिकाको काम कारवाही चित्तबुझ्दो नभएको बताएका छन् । उनीहरुले सञ्चारकर्मी र मिडियालाई हेर्ने नजर नगरपालिकाको ठीक नभएको जिकीर गरेका छन् । बुधबार मेचीनगर नगरप्रमुखको कार्यकक्षमा भएको छलफलमा सहभागी अधिकांश सञ्चारकर्मीले सञ्चारलाई हेर्ने दृष्टिकोण स्पष्ट नभएको गुनासो गरे । ‘नगरपालिकाले सञ्चार क्षेलाई सधैँ उपेक्षा गरिहेको छ,’ उनीहरुले प्रश्न गरे, ‘किन यस्तो व्यवहार गरिन्छ ? सञ्चार संस्था विकासको साझेदार हो भन्ने कुरालाई किन नबुझेको ?’
मेचीनगर नगरपालिकाले ल्याउन लागेको सञ्चार ऐन स्वागतयोग्य रहेको बताउँदै सहभागी सञ्चारकर्मीहरुले ऐनको मस्यौदा सार्वजनिकीकरण प्रक्रिया गलत भएको दाबी गरे । ऐनको मस्यौदा सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीलाई बाहिर राखेर छलफल चलाइएको थियो । कतिसम्म भने उक्त कार्यक्रमको आयोजक संस्था कोही पनि थिएन । अर्थात सञ्चार क्षेत्रमा काम गरिरहेको मेचीनगर सञ्चार प्रतिष्ठानसमेतलाई आमन्त्रण गरिएको थियो ।
छलफल कार्यक्रममा पत्रकारहरुले नगरपालिकालाई सञ्चारमैत्री बन्न सुझावसमेत दिए । उनीहरुले सञ्चार क्षेत्रको प्रवद्र्धन र सञ्चारकर्मीको दक्षतालाई भरपुर प्रयोग गरी आम नगरबासीसम्म सूचना प्रवाह गर्ने वातावरण बनाउन नगरलाई आग्रह गरे । छलफल कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, पत्रकार महासंघका निवर्तमान झापा सचिव सन्तोष आचार्य, महासंघका वर्तमान झापा कोषाध्यक्ष मुक्ति पौडेल, प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष खगेन्द्र घिमिरे, सचिव प्रविण अधिकारी, मेचीनगर सञ्चार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाईं, प्रेस सेन्टरका प्रदेश कोषाध्यक्ष झुलन रेग्मी, जिल्ला सचिव प्रकाश उप्रेती, अग्रज पत्रकार जीएन शर्मा लगायतले धारणा व्यक्त गरेका थिए ।
छलफल कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कमी कमजोरीलाई सञ्चाएर अघि बढ्ने बताए । उनले सञ्चार ऐन ल्याउने वा नल्याउने भन्ने विषयमा छलफल चलाएर निष्कर्षमा पुग्ने जनाए । नगर प्रमुख बुढाथोकीले समग्र नगरको विकासमा सञ्चार क्षेत्रको भूमिका आवश्यक रहने उल्लेख पनि गरे । कार्यक्रममा नगर उपप्रमुख मीना उप्रेती र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगरलाई व्यवस्थित गर्न आफूहरु लागि परिरहेको र सञ्चारकर्मीलाई सँगसँगै लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।