मेचीनगर । मेचीनगर नगरपालिका क्षेत्रका टेम्पु तथा ई–रिक्सा चालकहरूलाई लक्षित गर्दै ट्राफिक नियम सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक मेलमिलाप समाज नेपाल–मेचीनगरको आयोजनामा तथा इलाका प्रहरी कार्यालय धुलाबारी र ट्राफिक प्रहरीको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
विहीबार मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा झन्डै एक सयभन्दा बढी टेम्पु तथा ई–रिक्सा चालकहरूको सहभागिता रहेको समाजका अध्यक्ष प्रकाश खड्काले जानकारी दिए । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय काँकरभिट्टाका इन्चार्ज पूर्ण गौतमले चालकहरूलाई ट्राफिक नियम तथा सुरक्षित सवारी सञ्चालन सम्बन्धी जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर न्यायिक समितिका सदस्य कुन्दन निरौलाले स्थानीय स्तरमा ट्राफिक सचेतना अभिवृद्धि गर्न यस्ता तालिम उपयोगी हुने बताए । विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डव कुमार राजबंशीले सुरक्षित सवारी सञ्चालनका लागि नियमको पालना अपरिहार्य रहेकोमा जोड दिए । कार्यक्रमको अध्यक्षता सामाजिक मेलमिलाप समाज नेपाल–मेचीनगरका अध्यक्ष प्रकाश खड्काले गरेका थिए । स्वागत मन्तव्य कृष्ण श्रेष्ठले तथा सञ्चालन समाजका सचिव शिवशंकर शाहले गरेका थिए ।