मेचीनगर, १५ जेठ । झापाको मेचीनगर–१० खयरडाँगीस्थित टिमाई खोलामा एक पुरुषको शव फेला परेको छ। आज विहिबार दिउँसो १२:३० बजे खोलाको किनारमा अन्दाजि ४०–४५ वर्ष उमेरको पहाडी मूलजस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।
स्थानीयवासीले खोलामा शव देखेपछि दिउँसो १ बजे प्रहरीलाई खबर गरेका थिए। खबर पाएपछि प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा टोली खटिएको थियो। प्रहरीका अनुसार शव केही दिन अगाडिको हुनसक्ने अनुमान गरिएको छ।
“शव पानीको छेउमा घोप्टो अवस्थामा फेला परेको थियो,” प्रमुख राजवंशीले बताए, “शरीरमा कुनै गम्भीर चोटपटक देखिएको छैन। मृत्युको कारण र प्रकृति पोष्टमार्टमपछि मात्र खुल्नेछ।”
शवको पहिचान अहिलेसम्म हुन नसकेको जनाइएको छ। स्थानीयको भनाइअनुसार मृतक केही दिनदेखि धुलाबारी बजार क्षेत्रमा माग्दै हिँड्ने गरेका थिए। कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर झापा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।