झापा ।  झापाको मेचीनगर नगरपालिका वडा २ र ४ को आलडागी क्षेत्रमा चितुवाको आतङ्क बढ्दै गएको छ । पछिल्लो समय चितुवाले झण्डै दुई दर्जन कुकुर, बाख्रा, सुँगुरका पाठा लगायतका घरपालुवा जनावर मारेको स्थानीयवासीले बताएका छन्।

हाल चितुवा वडा नं. २ को आसपासमा देखिन थालेपछि बालबालिका तथा सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको छ । बालबालिकालाई एक्लै हिँड्न नदिन अभिभावकलाई आग्रह गरिएको छ।

चितुवालाई नियन्त्रणमा लिन अभियान थालिएको वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीले जानकारी दिए । उनले डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, सुरक्षाकर्मी, आरआरटी तथा जनप्रतिनिधिहरू सक्रिय रहेको बताए । अध्यक्ष कार्कीले सञ्चारमाध्यमहरूलाई सूचना प्रसारमा सहयोग गर्न आग्रह गर्दै स्थानवासीलाई सतर्क रहन पुनः अनुरोध गरेका छन ।