बिर्तामोड । झापाको काँकडभिट्टाबाट प्रहरीले एक लाख रुपैयाँ नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति तेह्रथुमको ओयाक्जुङ गाउँपालिका–५ नेलईका २८ वर्षीय गणेश भारती हुन्।
आईतबार साँझ मेचीनगर–६ स्थित नेपाल बैंक अगाडिको सडक क्षेत्रमा शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले चेकजाँच गर्दा भारतीको साथबाट १ हजार दरको १ सय थान नक्कली नेपाली नोट र एक थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती नोटहरू प्रिन्टरबाट छापिएको खोटा मुद्रा भएको पुष्टि भएपछि उनलाई खोटा चलन मुद्दाअन्तर्गत पक्राउ गरिएको हो। भारतीविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको छ।