धुलाबारी । मेचीनगर वडा नं. ९ वडा समितिले आगलागी पीडित परिवारलाई राहत स्वरुप १ लाख पाँच हजार रुपैयाँ नगद सहयोग गरेको छ ।
मेचीनगर–९ स्थित कमलचोक निवासी मनिराज अधिकारी र स्वस्तिका अधिकारीको घरमा विद्युतीय सर्ट भएर गत जेठ ६ गते आगो लागेको थियो । आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको थियो । घर जलेर खरानी भएपछि पीडित परिवार छिमेकीको घरमा शरण लिएर बसिरहेका छन् । बुधबार कांग्रेसका वडा सभापति उद्धव बानियाँको नेतृत्वमा पुगेको टोलीले संकलित उक्त रकम आगलागी पीडित परिवारलाई हस्तान्तरण गरेको छ ।
विपदमा परेका परिवारलाई केही राहत पुगोस् भनेर वडा समितिले रकम सहयोग गरेको वडा उपसभापति रुद्रकुमार रोक्काले बताए । उनका अनुसार वडा समितिको पहलमा सहयोगी, सुभेच्छुक लगायत सबै मनकारी व्यक्तित्वहरुबाट संकलित १ लाख पाँच हजार रुपैयाँ आगलागी पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।