धुलाबारी, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा इस्ट होराइजन विद्यालयका विद्यार्थीहरूले वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । मेचीनगरको धार्मिक स्थल पातलगंगा परिसरमा विद्यार्थीहरूले सयपत्रीको बिरुवा रोपेका हुन् । विश्व वातावरण दिवसकै अवसरमा गत वर्षबाट यस विद्यालयका जुनियर स्काउट दल कब ब्राउनीका विद्यार्थीहरुले उक्त कार्यक्रम गर्दै आएको विद्यालयका प्रमुख प्रशासक सावित्रा सापकोटा राईले बताइन् ।
साथै, विद्यार्थीहरूले विद्यालय परिसरमा सरसफाई तथा वृक्षारोपण गरेका छन् । ‘सुन्दर हरियाली र प्लास्टिक रहित वातावरण आजको आवश्यकता’ भन्ने मूल नाराका साथ फाइन आर्टका विद्यार्थीहरुले समेत प्लास्टिकलाई कसरी सदुपयोग गरेर वातावरण प्रदूषण रोक्न सक्ने भनेर विभिन्न सन्देशमूलक सामग्रीको निर्माण गरी विद्यालयमा प्रदर्शन पनि गरेका थिए ।
वातावरणप्रति जनचेतना फैलाउने र सफा, हरित तथा स्वस्थ समाज निर्माणमा योगदान पु¥याउने उद्देश्यले वृक्षारोपण अभियान सञ्चालन गरिएको विद्यालयका प्राइमरी संयोजक विकास ग्वालले बताए । सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले व्यावहारिक शिक्षा दिने र सामाजिक जिम्मेवारी बोध गराउने बताएका छन् ।

















