मेचीनगर । झापाको मेचीनगर–१२ धाइजनमा आयोजित दोस्रो वडा अध्यक्ष जुनियर कप कराँते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। शनिबार चारआली सानासहरी खानेपानीको सभाहलमा सम्पन्न प्रतियोगिता नेपाल कराँते सहरेडाँगी डोजोको आयोजनामा र मेचीनगर–१२ वडा कार्यालयको सहकार्यमा सम्पन्न भएको हो।
प्रतियोगितामा झापाका विभिन्न डोजोका झन्डै ३ सय खेलाडी सहभागी भएका थिए। २० केजी तौल समूहदेखि ५० केजी तौल समूहसम्मका विभिन्न उमेर समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा बडाखाल डोजोले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पा¥यो। दोस्रो स्थान बासबारी डोजोले प्राप्त गर्दा तेस्रो स्थान बुधबारे डोजोले हासिल ग¥यो। प्रतियोगितामा उत्कृष्ट महिला खेलाडी (बेष्ट लेडी) चारआली डोजोकी ओजेसी खनाल घोषित भइन् भने उत्कृष्ट पुरुष खेलाडी (बेष्ट ब्वाइ) बुधबारे डोजोका विलप दाहाल बने।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–१२ का वडा अध्यक्ष मधुसूदन निरौलाले खेलकुदमार्फत युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्न सकिने बताउँदै स्थानीय सरकारले खेलकुद प्रवद्र्धनमा विशेष ध्यान दिएको बताए। उनले यस्ता प्रतियोगितालाई आगामी दिनमा अझै व्यवस्थित र स्तरीय रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर–१४ का वडा अध्यक्ष बाबुलाल सुब्बाले खेलकुदले समाजमा सकारात्मक सोच र समावेशिता ल्याउने उल्लेख गर्दै सहभागी खेलाडीहरूलाई बधाई तथा शुभकामना दिए। प्रतियोगिताको अध्यक्षता नेपाल कराँते सहरेडाँगी डोजोका अध्यक्ष किरण कुमार विश्वकर्माले गरेका थिए। उनले स्थानीय, प्रदेश र राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताए। कार्यक्रम सञ्चालन आइदेव राईले गरेका थिए भने स्वागत मन्तव्य डोजोकी उपाध्यक्ष कमला लिम्बूले राखेकी थिइन्। प्रतियोगितालाई सफल बनाउन स्थानीय तह, अभिभावक, खेलप्रेमी, प्रशिक्षक तथा स्वयंसेवकको उल्लेखनीय सहयोग रहेको आयोजकले जनाएको छ।