धुलाबारी । मेचीनगरमा उद्योगको दर्ता प्रक्रिया, आवश्यक कागजपत्र, कानूनी व्यवस्था तथा सञ्चालन सम्बन्धी अन्तरक्रिया भएको छ । घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजना र मेची उद्योग वाणिज्य संघको समन्वयमा शुक्रवार सो कार्यक्रम भएको हो । त्यसक्रममा प्रमुख अतिथि मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले भने, “स्वरोजगार सिर्जना गराउन घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण छ । उद्योगको दर्ता प्रक्रिया सहज बनाउन सम्बन्धित पक्षको साथ चाहिएको छ ।”

उक्त कार्यक्रमको अध्यक्षता घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख पुष्पलता उप्रेतीले गरेकी थिइन् । उनले कार्यक्रमको मुख्य लक्ष्य उद्योग शुरु गर्न चाहनेहरुलाई जानकारी दिने, विधि, नियम कानूनी व्यवस्था, लगानीको सुरक्षा, लगानीको प्रमाणलगायत विषयबारे जानकारी गराइन् । सो अवसरमा मेचीनगर क्षेत्रमा क्रियाशील ८० भन्दा बढी साना उद्यमी तथा व्यवसायीको सहभागिता रहेको थियो । सहभागीहरुलाई कार्यक्रममार्फत उद्योगको नाम दर्तादेखि सञ्चालनसम्म चाहिने दस्तावेज, सिफारिस पत्र, करदाता दर्ता प्रमाणपत्र, लगानीको लगत, सम्बन्धित वडा कार्यालयको सिफारिस आादिबारे विस्तृत जानकारी गराइएको थियो ।

घरेलु तथा साना उद्योग अधिकृतहरुले सहभागीको जिज्ञासा मेट्न प्रश्नोत्तर सत्रको समेत आयोजना  भएको थियो । कार्यक्रमको अन्त्यमा सहभागीहरुले अन्तरक्रियाले आफूहरुलाई कार्यक्रम शुुरु गर्न थप प्रेरणा प्रदान गरेको प्रतिक्रिया दिएका थिए । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका सहायक अधिकृत जानकी भट्टराई, मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन,  वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल),  उद्योग उपाध्यक्ष भुमि पौडेल, महिला उपाध्यक्ष निर्मला चौहान (भण्डारी), होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठलगायतको आतिथ्यता थियो । सो कार्यक्रमको सञ्चालन मेची उद्योग वाणिज्य संघका निर्देशक गोपाल बस्नेतले गरेका थिए ।