मेचीनगर । बेवारिसे अवस्थामा भेटिएका एक पुरुषको आम्दा मेची अस्पताल धुलाबारीमा उपचार भइरहेको छ । मेचीनगर–१० हिमालय टोलमा अचेत अवस्थामा फेला परेका उनको सो अस्पतालले उपचार गरिरहेको हो ।
सोमबार अपरान्ह करीब ४ बजे स्थानीयले पहाडी मूलको झैं देखिने अन्दाजी ३६ वर्षका ती पुरुष अस्वस्थ अवस्थामा लडिरहेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । उक्त सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय धुलाबारीको टोली, जनप्रतिनिधि सोम ओझा लगायत घटनास्थल पुगेर उनको उद्दार गरी उपचार गराउन सो अस्पताल लगेका थिए । उक्त अस्पतालका सूचना अधिकारी किरण निरौलाका अनुसार ती पुरुषको
स्वास्थ्य अवस्था नाजुक रहेकाले थप उपचारका लागि आईसीयूमा भर्ना गर्नुपर्ने भएको छ । ‘अवस्था अत्यन्तै जटिल छ, आइसीयूमा उपचार गर्नुको विकल्प छैन, यहाँ आइसीयूको सुविधा छैन’, उनले भने । गम्भीर प्रकृतिको रोगले थलिएका ती बिरामीको अहिलेसम्म नाम, थर, ठाउँ, ठेगाना पत्ता लाग्न नसक्ता उपचारमा समस्या भइरहेको निरौलाले बताए । बिरामीको पहिचानका लागि आवश्यक सहयोग गर्न सो अस्पतालले यसअघि नै इलाका प्रहरी कार्यालय धुलाबारीलाई आग्रह गरिसकेको छ ।

















