धुलाबारी । युनाइटेट युथ ओपन स्काउट क्रयु मेचीनगरको आयोजनामा दौड ‘थर्ड क्रस कन्ट्री रेस’ प्रतियोगिता आयोजना गरिने भएको छ । १३ देखि १६ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरी दौड प्रतियोगिता आयोजना गर्न लागिएको धुलाबारीमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

रेन्जर लिडर शिवानी देवानका अनुसार दौड प्रतियोगिता यही मंसिर २७ गते शनिबार धुलाबारीमा हुँदैछ । प्रतियोगितामा धुलाबारी, इटाभट्टा, काँकरभिट्टा विर्तामोड, भद्रपुर तथा अन्य क्षेत्रका विद्यार्थी सहभागी हुन पाउनेछन् ।

दौड मेचीनगर–१५ स्थित विचार्नीबाट सुरु भई मेचीनगर–१० धुलाबारी माविसम्म हुनेछ । दौड प्रतियोगिताका विजेताहरुलाई आयोजक संस्थाले आकर्षक पुरस्कारको व्यवस्था समेत गरेको रोभर स्काउट अभिषेक सार्कीले बताए ।

दौडमा करिब २ सहभागी हुने बताइएको छ । प्रतियोगितामा छात्रतर्फ पहिलो हुनेले मेडलसहित १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले नगद ५ हजार प्राप्त गर्नेछ भने विजेता छात्राले पनि क्रमश सोही अनुसारको पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

मेचीनगरमा सक्रिय युनाइटेट युथ ओपन स्काउट क्रयुले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थाकै व्यानरमा यसअघि पहिलो र दोस्रो संस्करण दौड प्रतियोगिता सम्पन्न भइसकेको छ ।

सँगसँगै उक्त संस्थाले कोरोनाकालमा महामारीबाट बच्न एसएमएस अभियान चलाएर सचेतना जगाएको, मास्क वितरण गरेको, धुलाबारी क्षेत्रमा जेब्रा क्रसिङ बनाएको रेन्जर लिडर शिवानी देवानले बताइन् ।

युनाइटेट युथ ओपन स्काउट क्रयु मेचीनगरका अध्यक्ष महेन्द्रविलास लुइँटेलले बालबालिका तथा किशोरकिशोरी विद्यार्थीहरुको क्षमता विकाससँगै खेलकुदको माध्यमबाट स्वस्थ बनाउने उदेश्यले दौड प्रतियोसिगता आयोजना गरिएको बताए । उनले उक्त दौडमा सहभागिता जनाउन विद्यार्थीलाई अपिल समेत गरेका छन् ।