झुलन रेग्मी
मेचीनगर । झापा मेचीनगर–९ को मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. १ मा आज हुने कार्यसमिति निर्वाचनले मेचीनगर क्षेत्रको राजनीतिक र सामाजिक चहलपहल बढाएको छ ।
मंसिर २७ गते बिहान ८ बजेदेखि सुरु हुने र साँझ ५ बजेमा सम्पन्न हुने मतदानप्रति स्थानीय उपभोक्ताहरु अत्यधिक उत्साहित देखिन्छन् । सामुदायिक वन व्यवस्थापन, संरक्षण तथा उपभोक्तामुखी गतिविधिका कारण मागुरमाडी वन स्थानीय बासिन्दाको महत्वपूर्ण आर्थिक तथा सामाजिक आधार बनिरहेको छ । त्यसैले यसपटकको नेतृत्व चयनलाई भविष्यका नीति तथा कार्यक्रमको निर्धारणका हिसाबले निर्णायक मानिएको छ ।
अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रिएका चारैजना उम्मेदवार बीच निकै टक्कर भिडन्त हुने अपेक्षा गरिएको छ । स्वतन्त्रबाट युवराज रेग्मी, एमालेबाट दिलीप शंकर, कांग्रेसबाट पुन्यप्रसाद आचार्य तथा रास्वपाबाट लोकनाथ काफ्ले प्रतिस्पर्धामा छन् । चारैजना उम्मेदवार आफ्नो–आफ्नो अनुभव, जनसञ्जाल र भविष्यका योजनालाई लिएर उपभोक्तामाझ पुगेका छन् ।
स्वतन्त्र उम्मेदवार युवराज रेग्मी अहिले समूहका कार्यसमिति सदस्य तथा सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगरका सचिव हुन् । युवा वर्गको प्रतिनिधित्व गर्ने, सक्रिय र योजनायुक्त उम्मेदवारका रुपमा उनी दाबी गरिएका छन् । गत केही वर्षयता सामुदायिक वन सम्बन्धित विभिन्न कार्यक्रम र तालिममा उनको सहभागिता तथा नेतृत्व क्षमतालाई मतदाताले सकारात्मक रुपमा लिएका छन् ।
एमालेका तर्फबाट उम्मेदवारी दिएका दिलीप शंकर वन समूहका सल्लाहकारका रुपमा छन् । संस्थागत अनुभव, संरचनागत ज्ञान तथा व्यवस्थापन क्षमताका आधारमा बलियो प्रतिस्पर्धी मानिन्छन् । समूहको दीर्घकालीन योजनालाई अगाडि बढाउन सक्ने क्षमता आफूमा रहेको उनको दाबी छ ।
कांग्रेसका पुन्यप्रसाद आचार्य पनि वन समूहकै सल्लाहकार रहेकाले उनी पनि समान हैसियतका प्रत्यासी हुन् । समन्वय क्षमता, उपभोक्ता अनुकूल कार्यक्रम र नियमित व्यवस्थापनलाई मुख्य एजेन्डा बनाउँदै आचार्य चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय उपभोक्तामा उनको पहिचान, सरल स्वभाव र अनुभवले उनलाई थप सबल बनाएको छ ।
रास्वपाका लोकनाथ काफ्ले उपभोक्ता मात्रै भए पनि उनी स्थानीय समुदायमा सरल, मिलनसार स्वभावका कारण लोकप्रिय छन् । उपभोक्ताको वास्तविक आवश्यकता बुझ्ने र आवाज उठाउने क्षमता आफूमा रहेको बताउने काफ्ले साना–साना तर प्रभावकारी कार्यक्रम मार्फत वन व्यवस्थापन सुदृढ पार्न चाहने भन्दै मतदातालाई आकर्षित गरिरहेका छन् ।
करिब ७३० घरधुरी रहेको मागुरमाडी सामुदायिक वनमा एक घरधुरीबाट दुई जनाले मतदान गर्न पाउने नियम अनुसार यसपटक १४ सयभन्दा बढी मतदाता रहने अनुमान गरिएको छ । उच्च मतदाता सहभागिताको सम्भावना रहेका कारण मत परिणाम कडा प्रतिस्पर्धात्मक बन्ने विश्लेषण गरिएको छ ।
मागुरमाडी सामुदायिक वन मेचीनगर–९ को मात्रै होइन, समग्र समुदायको प्राकृतिक तथा सामाजिक सम्पत्तिको जगेर्ना गर्ने मुख्य आधार मानिन्छ । वर्षौँयता वन्यजन्तु संरक्षण तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्दै आएको यो समूहले स्थानीयको जीवनस्तरमै प्रत्यक्ष प्रभाव पारेको छ । त्यसैले यहाँको नेतृत्व परिवर्तनले आगामी वर्षको योजनामा ठोस प्रभाव पार्नेछ ।
मतदान सुरु हुन केही घण्टा बाँकी रहँदै उपभोक्ताबीच चुनावी चर्चा तीव्र बनेको छ, ‘यसपालि अध्यक्षमा कसले जित्ला ?’ चारै उम्मेदवारका बलियो पक्ष रहेकाले नेताहरुले नै नभई मतदाताले कसलाई प्राथमिकता दिन्छन् भन्ने कुराले परिणाम तय गर्नेछ । मतदानले मागुरमाडी सामुदायिक वनको नयाँ यात्रा कता मोडिन्छ भन्ने अपेक्षाले स्थानीयको ध्यान वन कार्यालयतिर केन्द्रित भएको छ ।

















