झुलन रेग्मी धुलाबारी, २० पुस । झापा मेचीनगर नगरपालिका वडा नम्बर ९ मा सञ्चालित कविशिरोमणि माध्यमिक विद्यालय पछिल्लो समय शैक्षिक गुणस्तर अभिवृद्धिका लागि उल्लेखनीय प्रयासमा जुटेको छ । कुनै समय मेचीनगरकै अब्बल विद्यालयको रुपमा परिचित यस विद्यालयको शैक्षिक अवस्था बीचको कालखण्डमा कमजोर बनेको थियो ।

तर, अहिले विद्यालय व्यवस्थापन, शिक्षक र समुदायको सक्रियतामा पुनः पुरानै गौरव फर्काउने दिशामा गम्भीर प्रयास भइरहेको छ । विद्यालयले भौतिक पूर्वाधार सुदृढीकरणसँगै विद्यार्थी केन्द्रित शैक्षिक कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । विशेषगरी एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीको क्षमता अभिवृद्धि गर्न प्रत्येक शनिबार अनिवार्य परीक्षा सञ्चालन गरिँदै आएको छ ।

3810f5e1-8fa6-42db-a737-05c48364ec05

हरेक हप्ता फरक–फरक विषयको परीक्षा लिने व्यवस्थाले विद्यार्थीलाई निरन्तर अभ्यासको अवसर मिलेको छ भने शिक्षकलाई पनि विद्यार्थीको कमजोरी पहिचान गर्न सहज भएको छ । त्यसैगरी, कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीका लागि बिहान र बेलुका कोचिङ कक्षा सञ्चालन गरिएको छ ।

नियमित कक्षाबाहेक थप समय अध्ययन गर्ने वातावरण मिलेपछि विद्यार्थीको आत्मविश्वास बढ्दै गएको शिक्षकहरुको भनाइ छ । विद्यालय प्रशासनका अनुसार यसले नतिजामा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विद्यालयले आगामी शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने तयारी पनि थालेको छ । पहिलो वर्ष नर्सरी र केजी कक्षाबाट अंग्रेजी माध्यम सुरु गरिने छ ।

त्यसपछि क्रमशः अन्य कक्षामा पनि विस्तार गर्दै लैजाने योजना रहेको प्रधानाध्यापक हरिप्रसाद न्यौपानेले जानकारी दिए । यसले निजी विद्यालयतर्फ आकर्षित विद्यार्थीलाई सामुदायिक विद्यालयमै टिकाइराख्न सहयोग पुग्ने विश्वास गरिएको छ । हाल विद्यालयको पठनपाठनमा सूचना प्रविधिको अभाव भने खड्किएको छ । आधुनिक प्रविधिबाट शिक्षण गर्न स्मार्ट बोर्ड र स्मार्ट टिभीको आवश्यकता रहेको विद्यालयले मेचीनगर नगरपालिकासँग सामग्रीको माग गरेको छ ।

‘स्मार्ट बोर्ड र स्मार्ट टिभी जडान गर्न सके कक्षा कोठामै नयाँ किसिमको सिकाइ वातावरण सिर्जना हुन्छ,’ प्रधानाध्यापक न्यौपानेले भने । उनका अनुसार प्रविधिमैत्री शिक्षाले विद्यार्थीको रुचि र सिकाइ क्षमता दुवै बढाउँछ ।

शैक्षिक गतिविधिसँगै विद्यालयमा वातावरणीय सौन्दर्य र सकारात्मक संस्कार प्रवद्र्धन गर्ने अभियान पनि सुरु गरिएको छ । विद्यालयका बाल क्लब संरक्षक शिक्षक दीपक सिवाकोटीले आफ्नो जन्मदिनको अवसर पारेर ‘एक फूल, एक गमला’ अभियानको सुरुवात गरेका हुन् ।

जन्मदिनलाई औपचारिक भोजभन्दा फरक, सिर्जनात्मक र अर्थपूर्ण बनाउने उद्देश्यले थालिएको यो अभियानले विद्यालयमा नयाँ ऊर्जा थपेको छ । यस अभियानबाट प्रेरित भएर अन्य शिक्षक तथा पूर्व विद्यार्थीहरुले पनि आफ्नो जन्मदिन विद्यालयमै मनाउँदै सहयोग गर्न थालेका छन् ।

विद्यालयकी सहायक प्रधानाध्यापक तुलसा दंगाल, शिक्षक रुद्रप्रसाद संग्रौला, सुष्मा श्रेष्ठ, कविता चौधरी तथा पूर्व विद्यार्थी समाजका अध्यक्ष भुपेन्द्र पाठकले विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेका छन् । कसैले भित्ते घडी, कसैले फूल र गमला त कसैले कक्षामा आवश्यक डस्टर प्रदान गरेका छन् । सबैले अनिवार्य रुपमा फूलसहितको गमला उपहार दिएका छन् ।

फूल र गमलाले विद्यालय परिसर झनै हरियाली र सुन्दर बनेको छ । विद्यार्थीले सफा, हराभरा र रमाइलो वातावरणमा अध्ययन गर्न पाउँदा विद्यालयप्रतिको अपनत्वसमेत बढेको शिक्षकहरु बताउँछन् ।

समग्रमा, कविशिरोमणि माध्यमिक विद्यालय अहिले शैक्षिक सुधार, प्रविधिमैत्री शिक्षण र सकारात्मक संस्कारको संयोजनमार्फत पुनर्जागरणको यात्रामा अघि बढिरहेको छ । यी प्रयासले आगामी दिनमा विद्यालयलाई पुनः मेचीनगरकै उदाहरणीय शैक्षिक संस्थाका रुपमा स्थापित गर्ने विश्वास गरिएको छ ।