मेचीनगर । संस्कार जीप तथा माइक्रो यातायात प्रालिको काँकरभिट्टा शाखा कार्यालय विस्तार भएको छ ।  अर्जुनधारा–११ मा प्रधान कार्यालय रहेको उक्त प्रालिले शुक्रवारबाट काँकरभिट्टामा विधिवत रुपमा शाखा सन्चालनमा ल्याएको हो । 

नेपाल मगर संघका केन्द्रीय सदस्य विकास थापा मगरले मेचीनगर–६ स्थित भट्टराई चोक पूर्व बाहुण्डाँगी रोडमा रहेको शाखा रिवन काटेर उद्घाटन गरेका हुन् ।  त्यसक्रममा प्रमुख अतिथि मगरले शाखाको ५ वटा सिटी सफारीमा स्टिकर टाँस गरी औपचारिक रुपमा सन्चालनमा ल्याएका छन् ।

उद्घाटनका अवसरमा प्रमुख अतिथि मगर, विशेष अतिथि युवा नेता बालकृष्ण थापा, अतिथि घैलाडुब्बा सुरेन्द्रनगर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार खरेललगायतले शुभकामना दिएका थिए । 

प्रालिका केन्द्रीय अध्यक्ष गोविन्द तामाङले शाखाका अध्यक्ष शेखर काजी थापालाई संस्थाको माइन्यूट हस्तान्तरण गरेको कार्यक्रममा युवा समाजसेवी दीपक थापा, होटल व्यवसायी संघका जिल्ला सचिव ध्रुव गिरीलगायतको आतिथ्यता थियो ।  प्रालिका केन्द्रीय अध्यक्ष तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागतसहित सन्चालन शाखाका अध्यक्ष थापाले गरेका थिए ।उक्त शाखाले लामो तथा छोटो दूरीको सवारी रिजर्भ, नयाँ तथा पुरानो इ–रिक्सा खरिद एवं विक्रीलगायतका सेवा सुरु गरेको छ ।

प्रालिका शाखा अध्यक्ष थापाका अनुसार सिटी सफारी, अटो, जीप, चार चक्के इ–भेहिकल, हायस, माइक्रोसहित रात्री बसको सेवा समेत रहेको छ ।  शाखाको हाल ६ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा जंगबहादुर राई (जोन), सचिवमा गंगाबहादुर कटुवाल र कोषाध्यक्षमा वीरु मगर छन् । विकास गुरुङ र रोशन राई सदस्य रहेको कार्यसमितिको पहिलो बैठकले १ जना सदस्य मनोनीत गरी कार्यसमितिलाई ७ सदस्यीय बनाइने बताइएको छ ।