धुलाबारी । यही फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले झापा १ को उम्मेद्वारका लागि मेचीनगर सभापति सुवेशकुमार पनेरु (सुदय) सहित पाँच जनाको नाम सिफारिस गरेको छ । 

कांग्रेस क्षेत्रीय समितिको शनिवार बसेको बैठकले मेचीनगर १० का पूर्व वडाअध्यक्ष पनेरुसहित अशोककमार पोखरेल, पंकजविक्रम नेम्वाङ, बिना तामाङ र गौतम मजुम्दार (बिकी) को नाम उम्मेद्वारका रूपमा केन्द्रीय समितिमा सिफारिस गरेको कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले बताए । 

उम्मेद्वारमा नाम सिफारिस भएकाहरूमा मेचीनगर १० निवासी पोखरेल कानून व्यवशायी तथा कांग्रेस महासमिति सदस्य छन् । उनी नेपाल बार एशोसिएशनका पूर्व केन्द्रीय उपाध्यक्ष समेत हुन् । 

त्यस्तै, मेचीनगर १० निवासी महाधिवेशन प्रतिनिधि नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान अध्यक्ष हुन् । उम्मेद्वारमा नाम सिफारिस भएकी मेचीनगर ६ काँकरभिट्टा निवासी तामाङ कांग्रेसकी झापा जिल्ला सदस्य हुन् भने मेचीनगर ६ काँकरभिट्टा निवासी मजुम्दार कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता हुन् ।