मेचीनगर । तत्कालीन नेकपा (माओवादी केन्द्र) का झापा जिल्ला संयोजक राजु आचार्य ‘अग्नी’ ले प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

२७ वर्षदेखि पार्टीसँग संगठित रूपमा आबद्ध रहेका आचार्यले आज सामाजिक सञ्जालमार्फत प्रचण्ड नेतृत्वको पार्टी छोडेको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘२७ वर्षको यो पार्टीसँगको यात्रा आजबाट अन्त्य भएको छ । अब स्वतन्त्र नागरिकको हैसियतमा आफ्नो जीवन र समाजका लागि नयाँ बाटोमा अघि बढ्नेछु ।’

लामो राजनीतिक यात्रामा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आचार्यले अब स्वतन्त्र सोच, दृष्टि र विश्वासका साथ जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । झापाका चर्चित नेता अग्नि माओवादी भूमिगतकालमा पनि उत्तिकै चिनिएकामा पर्दछन् । उनको राजीनामाले झापाको नेपाली कम्युनिष्ट पार्टीमा ठूलो तरंग पैदा भएको छ ।