धुलाबारी, १० माघ । मेचीनगर–९ मा सञ्चालित नैनेखाल बचत समूहको १६औँ वार्षिक साधारण सभा शनिबार थोप्लेविरानमा सम्पन्न भएको छ । साधारण सभाले आगामी रणनीति तय गर्दै सम्पन्न भएको हो ।

साधारण सभाले आगामी चैत महिनाको तेस्रो साता शनिवार सदस्यलाई भ्रमण गराउने निर्णय पारित गरेको छ । त्यस्तै, बचत रकम फिर्ता लिन चाहने इच्छुक सदस्यको हकमा खुला गरिएको छ भने बचत समूहमा आबद्ध हुनका लागि संस्थाको नियम अनुसार आउन आव्हान गरिएको छ ।

नैनेखाल बचत समूहका अध्यक्ष रुद्रप्रसाद फुयलको अध्यक्षता तथा पूर्व शिक्षक एवं सामाजिक व्यक्तित्व चुडामणि रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा बचत समूहका सल्लाहकार संयोजक हरिप्रसाद चापागाईले शुभकामना मन्तव्य राखेका थिए ।

स्थानीय स्तरमा सहकारी मोडेलबाट सञ्चालित उक्त बचत समूहमा ३३ जना सेयर सदस्य आबद्ध रहेको सहसचिव सीमा रेग्मी बाँस्तोलाले जानकारी दिइन् । संस्थाको हाल पूँजी २१ लाख रुपैयाँ रहेको छ । 

हरेक महिना शेयर सदस्यहरुले मासिक २ सय रुपैयाँ बचत गर्दै आएका छन् । बचत समूहकी उपाध्यक्ष प्रमिला कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव एकराज नेपालले गरेका थिए ।