काँकरभिट्टा । भारतको अपर बागडोग्रामा सम्पन्न सेकेन्ड आस्ना मेमोरियल ओपन कराते च्याम्पियनसीपमा नेपालले २२ वटा स्वर्ण पदक हात पारेको छ । जापान कराते डो केन्यू रियु भारतमा आबद्ध दार्जिलिङ युवा कराते एकाडेमीद्वारा आयोजित च्याम्पियनसीपमा नेपालका ५ वटा डोजोबाट ६० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । माघ १० र ११ गते भएको सो प्रतियोगितामा नेपालले ११ वटा रजत र २७ वटा कास्य पदक जितेको निर्णायक मुक्ति काफ्लेले बताए ।
काँकरभिट्टास्थित सिरिजंघा कराते एकाडेमीबाट प्रतियोगितामा सहभागी एक मात्र खेलाडी राम राईले कुमुतेको ५० केजी तौल समूहमा रजत पदक जितेका टीम कोच चिरन्जीवी सुब्बाले जानकारी दिए । पदक हात पारेका खेलाडीहरुलाई समापन कार्यक्रमका सभापति कुनम राई, प्रमुख अतिथि गोर्खा इम्पावर केयर फाउण्डेसन इजरायलका संस्थापक चन्दन सिटौला, आयोजक एकाडेमीका अध्यक्ष विवेक मोक्तान, खारगपुर युवा कराते एकाडेमीका अध्यक्ष आनन्द गोस्वामी लगायतले ट्रफी, मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।
स्थानीय बालिका उच्च मावि परिसरमा सञ्चालित प्रतियोगितामा नेपाल र भारतका खेलाडीहरुले भाग लिएका थिए । अपर बागडोग्राका कुनम राईकी छोरी आस्नाको स्मृतिमा गत वर्षदेखि उक्त प्रतियोगिता आयोजना हुन थालेको बताइएको छ ।

















