मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकी निशा डाँगीले देश र देशवासीको आमूल रुपान्तरणका लागि योग्य व्यक्तिलाई प्रधानमन्त्रीमा जिताउन आग्रह गरेकी छन् । बुधवार रास्वपा झापा निर्वाचन क्षेत्र नंं. १ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै उनले भनिन्, “देशको निकासका लागि योग्य व्यक्ति बालेन शाहलाई प्रधानमन्त्रीमा जिताउनुको विकल्प छैन ।” घन्टी बजाउँदै, रिवन काट्दै इटाभट्टामा कार्यालय उद्घाटन गरेकी उनले आफूहरु इमानको राजनीति गर्न आएकाले कसैले रोक्दैमा नरोकिने र छेक्दैमा नछेकिने बताइन् ।
“यो देशमा गन्हाउने राजनीति मात्र भयो, त्यसलाई सफा गर्न आएका हांै, कसैले धम्क्याउँदैमा कोहीसँग डराउँदैनौ” उनले भनिन्, “नेपाल र नेपालीलाई हँसाउन आएका हौं, हामी निरन्तर जनताको पक्षमा काम गर्छौं ।”
आफू निर्वाचन क्षेत्र नं. १ बनाउन आएको उल्लेख गर्दै उम्मेद्वार डाँगीले परिवर्तनका लागि एक ठाउँमा उभिन सबैलाई अपील गरिन् । “परिवर्तनको आशमा पटक–पटक मत दिए पनि परिवर्तन हुन सकेको छैन” उनले थपिन्, “जेनजी पुस्ता रहरले सडकमा गएको होइन, त्यो उनीहरुको बाध्यता थियो, यसलाई सबैले बुझ्नुपर्छ ।” उम्मेद्वार डाँगीलाई जिताउन चर्चित सचारकर्मी प्रकाश सुवेदी उम्मेद्वारसँगै क्षेत्र नं. १ मा देखिएका छन् ।

















