धुलाबारी । आसन्न निर्वाचनलाई लक्षित गर्दै झापा–१ मा उम्मेद्वार र मतदाताबीच प्रत्यक्ष संवाद गराउने तयारी गरिएको छ। नेपाल जेसीज को केन्द्रीय अवधारणा अनुरूप मेचीनगर क्षेत्रका चार जेसीज शाखाले संयुक्त रूपमा ककस कार्यक्रम आयोजना गर्ने निर्णय गरेका हुन्।
धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज, बाहुनडाँगी जेसीज र चारआली जेसीजको सहकार्यमा फागुन १२ गते धुलाबारीमा कार्यक्रम सञ्चालन गरिनेछ। आयोजकका अनुसार कार्यक्रममा सहभागी उम्मेद्वारले आफ्ना एजेन्डा प्रस्तुत गर्नेछन् भने मतदाताले प्रत्यक्ष प्रश्न राख्न पाउने व्यवस्था मिलाइएको छ।
आयोजक पक्षले लोकतान्त्रिक संस्कार सुदृढ गर्न र मतदातालाई सूचित निर्णय लिन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। झापा–१ का सबै उम्मेद्वारलाई निम्तो पठाइएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी पनि दिइएको छ।
कार्यक्रम धुलाबारीस्थित पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठान टाउन हल मा दिउँसो १२ बजेबाट सुरु हुनेछ। कार्यक्रमको सञ्चालन अनुभवी जेसीज प्रतिनिधिले गर्नेछन्।
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहेका छन्। आयोजकले सरोकारवाला, सञ्चारकर्मी तथा मतदातालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

















