काठमाडौं । वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने भएको छ । कार्यालय समयभन्दा ढिलो उपस्थित हुने कर्मचारीको आधा दिन बिदा मानिने निर्णय समितिले गरेको हो । केही कारणले ढिलो भए अनिवार्य रूपमा सम्बन्धित विभागमा खबर गर्न समितिको निर्देशन छ । कारणबश अनुपस्थित हुनुपरेको अवस्थामा इन्चार्जमार्फत प्रशासनलाई जानकारी गराउन समितिले जनशक्तिलाई निर्देशन दिएको छ ।
कार्यालय समय आगामी वैशाख १ गतेदेखि बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कायम गर्ने प्रस्ताव गरिएको छ । समितिको बैठकले अस्पतालको सेवा प्रवाह सुधार, अनुशासन कायम तथा व्यवस्थापन सुदृढीकरणका लागि १४ वटा निर्णय गरेको अस्पतालका निर्देशक डा. दिलीप शर्माले जानकारी दिए ।
अस्पतालको सरसफाइ तथा अनुशासन सुधार गर्न सरसफाइ (क्लिनिलेन्स अडिट) र हाजिरी (अटेन्डेन्स अडिट ) समिति गठन गरिएको छ । व्यवस्थापन समितिले ‘ओटी’, ‘क्याथ ल्याब’ तथा बेलुकी सत्रमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता दिने भएको छ। अस्पतालका निर्देशक डा. शर्माका अनुसार बैठकले मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि तय गरिएको शासकीय सुधार मार्गचित्रलाई कार्यान्वयन गर्न आवश्यक निर्देशन दिने निर्णय गरेको हो । यी निर्णयले वीर अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा समितिले गरेको छ ।

















