मेचीनगर, २१ चैत । झापाको मेचीनगर–५ नकलबन्दामा आगामी चैत २६ गतेदेखि वैशाख ५ गतेसम्म “तेस्रो नकलबन्दा जिल्ला स्तरीय फुटबल प्रतियोगिता–२०८२” हुने भएको छ ।
नकलबन्दा क्षेत्रको इतिहासलाई उजागर गर्दै खेल क्षेत्रको विकासमा स्थानीय युवालाई प्रोत्साहनका लागि स्थानीय नकलबन्दा स्पोर्टिङ क्लबले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । झापा तथा जिल्ला बाहिरका चर्चित क्लबका १० वटा फुटबल टिमको प्रतियोगितामा सहभागिता रहने जानकारी दिइएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख १ हजार, ट्रफी, मेडल प्रमाणपत्र तथा दोस्रो टिमलाई नगद ५१ हजार ट्रफी, मेडलद्वारा पुरस्कृत गरिने बताइएको छ । फुटबल प्रतियोगिता सम्पन्न गर्न ६ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले जानकारी दिएको छ ।
खेल अवधिभर सर्वाधिक गोलकर्ता, म्यान अफ द म्याच घोषित खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार सदस्य पर्शुराम पराजुली, मेचीनगर–५ का वडा सदस्य पुष्पकुमार गेलाल, नकलबन्दा विकास समितिका अध्यक्ष इन्द्रबहादुर तामाङको उपस्थिति रहेको थियो । नकलबन्दा स्पोर्टिङ क्लबलका सचिव सुरज तामाङले सञ्चालन गरेको कार्याक्रममा अध्यक्षता क्लबका अध्यक्ष भक्त गुरुङले गरेका थिए । प्रतियोगिता मेचीनगर–८ स्थित विष्णु लक्ष्मी मन्दिरको खेल मैदानमा हुनेछ । उक्त मैदान क्लबले भाडामा लिएको जनाइएको छ ।

















